काठमाडौं । नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीमा २७५ जना भारतीय नागरिक अझै बेपत्ता रहेको भारतले जनाएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार नेपालका बाढी प्रभावित क्षेत्रबाट हालसम्म १६९ जना भारतीय नागरिकको उद्धार गरिएको छ।
पछिल्लो उद्धारमा पाँच वर्षीया बालिकासहित तीन भारतीय नागरिकलाई त्रिशूली बजारबाट सुरक्षित स्थानमा निकालिएको जयसवालले बताएका छन्। उनीहरूलाई नेपालस्थित भारतीय दूतावासको समन्वयमा हवाई मार्गबाट भारत फर्काउने प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, चीन हुँदै १ हजार ९०७ जना भारतीय नागरिक नेपाल प्रवेश गरिसकेको भारतले जनाएको छ। चिनियाँ आधिकारिक स्रोतलाई उद्धृत गर्दै जयसवालले तिब्बत स्वायत्त क्षेत्रमा अब कुनै भारतीय यात्रु अलपत्र नरहेको बताएका छन्।
उता, रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सुरक्षा फौजसँग सहकार्य गरिरहेको भारतीय सुरुङ उद्धार टोलीले खोजी तथा उद्धारलाई थप तीव्र बनाएको काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन्।
उनका अनुसार उद्धार टोलीले चिलिमे सुरुङको थप गहिराइमा पुगेर पानी बाहिर निकाल्ने काम गरेको छ। सुरुङसम्म ठूला तथा भारी उपकरण पुर्याउन अस्थायी मार्ग निर्माण भइरहेको छ।
उद्धार टोलीसँग आएका भारतीय चिकित्सकले प्रभावित स्थानीय समुदायका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिरहेको राजदूत श्रीवास्तवले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्