गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ।
बूढीगण्डकी र थेराङ खोलामा पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल बगाएपछि चुमनुब्रीवासीको आवतजावत प्रभावित भएको स्थानीयले बताएका छन्।
थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको हो। बाढीले बूढीगण्डकीको बहावसमेत बढाउँदा नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको अर्को पुल पनि बगाएको बताइएको छ।
बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजना पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। हालै निर्माण सम्पन्न भएर परीक्षण प्रसारणमा रहेको १०० किलोवाट क्षमताको आयोजना र यसअघि सञ्चालनमा रहेको २२ किलोवाटको आयोजना बाढीले बगाएको स्थानीयले बताएका छन्।
विद्युत् आपूर्ति बन्द भएपछि गाउँमा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने अन्य सेवा प्रभावित भएका छन्।
पुल बगाएपछि मनास्लु क्षेत्रमा सुरु हुन लागेको पर्यटक आवागमनसमेत प्रभावित भएको छ। लार्केपासका लागि पुगेका सयौँ पर्यटक बाटोमै रोकिएका छन्।
यसैबीच, पहिरोसहित आएको बाढीले नाम्रुङमा चारवटा घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बाढीले बगाएको हो।
बाढी आउँदा गाउँ नै थर्किएपछि स्थानीय भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष पेमाग्याल्बो लामाले बताउनुभयो।
बाढीबाट घरबारविहीन भएका चार परिवारलाई तत्काल खाद्यान्न तथा लत्ताकपडाका लागि प्रतिपरिवार २० हजार रुपैयाँ राहत दिने तयारी गरिएको छ। केही दिनभित्र गाउँपालिकाको तर्फबाट थप एक लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने वडाध्यक्ष लामाले जानकारी दिनुभयो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्