काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परी मृत्यु भएका २४४ जनाको शव हालसम्म शिक्षण अस्पतालमा ल्याइएको हो।
अस्पतालमा ल्याइएकामध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान भइसकेकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डा. चौधरीले जानकारी दिए।
हाल ५९ शव अस्पतालमै रहेका छन्। तीमध्ये केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले आवश्यक प्रक्रिया पूरा गरेपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
बाढीपछि पहिचान हुन नसकेका शवको सनाखत तथा व्यवस्थापनका लागि फोरेन्सिक परीक्षण, डीएनए नमुना संकलनलगायतका प्रक्रिया अघि बढाइएको छ। रासस
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्