काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै तीन दिनमा ८७ हजार ८७७ वटा खाना पकाउने ग्यास सिलिन्डर काठमाडौं भित्रिएका छन्।
नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि तराईका विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको हो।
निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिल गरी काठमाडौं पठाइएको छ।
भदौ १८ गतेदेखि २० गतेसम्म तीन दिनमा ८७ हजार ८७७ सिलिन्डर काठमाडौं ल्याइएको निगमले जनाएको छ।
दैनिक रूपमा भित्रिएका सिलिन्डरको संख्या यस्तो छ :
- भदौ १८ गते : २४ हजार ४९४
- भदौ १९ गते : ३४ हजार १३४
- भदौ २० गते : २९ हजार २४९
निगमका अनुसार विभिन्न ब्रान्डका ग्यास तराईका उद्योगमा रिफिल गरी वैकल्पिक सडकमार्गबाट काठमाडौं ल्याउने क्रम जारी छ।
कृष्णभीर खण्ड नियमित रूपमा सञ्चालनमा नआएसम्म तराईकै उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था कायम रहने निगमले जनाएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुँदा चरम अभाव र उपभोक्तामा चिन्ता देखिएको छ। वैकल्पिक मार्गबाट ठूलो परिमाणमा ग्यास भित्र्याउन थालिएसँगै आपूर्ति सहज बनाउने प्रयास भइरहेको निगमले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्