ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीको भेलमा ९२३ कैदीबन्दी, ५२ सुरक्षाकर्मी र एउटा असाधारण उद्धार


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

 

नुवाकोट । भदौ १० गते बिहान ९ बजेर २६ मिनेट।

सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक पप्पु यादव नियमित काममै थिए। त्यही बेला प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो।

“त्रिशूलीमा ठूलो बाढी आउँदैछ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु।”

त्यो फोन कल सामान्य सूचना थिएन। केही मिनेटमै नुवाकोट कारागारभित्रको अवस्था बदलिन लागेको थियो।

कारागारमा सशस्त्र प्रहरीको नेतृत्व यादवले गरिरहेका थिए भने नेपाल प्रहरीतर्फ प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदी नेतृत्वमा थिए। सूचना पाएलगत्तै दुवै निकायका ५२ सुरक्षाकर्मी हाइ अलर्टमा पुगे।

ब्लक १ र २ मा रहेका ५०५ कैदीबन्दीलाई तत्काल कारागार परिसरभित्रकै सुरक्षित एसेम्बली प्वाइन्टमा सारियो।

तर उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको केही समयमै बाढीले आफ्नो वास्तविक रूप देखाउन थाल्यो।

सय मिटर परबाट आएको पहिलो धक्का

“हामीले कैदीबन्दीलाई जसै एसेम्बलीमा ल्यायौँ, नदी किनारभन्दा अन्दाजी १०० मिटर टाढाको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो,” यादवले सम्झिए।

हिलो र गेग्रानसहितको भेल कारागारतर्फ बढिरहेको थियो।

बाढी कारागारसम्म आइपुग्नुअघि नै करिब डेढ किलोमिटर माथि रहेको २५ मेगावाटको नुवाकोट सौर्य परियोजनामा प्रहार गरिसकेको थियो।

कारागारको हाइपोस्टबाट त्यो दृश्य नियालिरहेका सुरक्षाकर्मीका लागि अवस्था कति भयावह हुँदैछ भन्ने बुझ्न धेरै समय लागेन।

भेल कारागारको प्रशासनिक भवनमा प्रवेश गर्‍यो। त्यसपछि नेपाल प्रहरीको भवन हुँदै कैदीबन्दी राखिएको भवनतर्फ बाढीको धक्का पुग्यो।

त्यतिबेला सुरक्षाकर्मीको अगाडि एउटै प्राथमिकता थियो—मानिस बचाउने।

“यत्तिकैमा बाढी आयो, कैदीबन्दी, हातहतियार र आफूबाहेक अरू जोगाउन पाएनौँ,” नेपाल प्रहरीका कारागार इन्चार्ज सुवेदीले भने।

दुई पर्खालले जोगाएको कारागार

बाढीको प्रत्यक्ष धक्का कारागार भवनमा ठूलो क्षति नपुर्‍याउनुको एउटा कारण बाहिरी संरचना बनेको सुरक्षाकर्मीहरूको भनाइ छ।

कारागार वरिपरिका दुई वटा पेरिमिटर पर्खाल बाढीको बाटोमा आए।

“यदि बाढी कारागारको भवनमा सिधै ठोक्किएको भए ठूलो जनधनको क्षति हुने थियो,” यादवले भने, “तर प्रशासनिक भवन र नेपाल प्रहरीको भवन हुँदै दुई वटा पेरिमिटर पर्खालमा ठोक्किँदा त्यसको गति कम भयो, यसले क्षति कम गरायो।”

बाढीले दुवै पेरिमिटर पर्खालका केही भाग भत्कायो। करिब दुई मिटरको दूरीमा रहेका ती पर्खाल पार गर्दै भेल ब्लक १ र २ सम्म पुग्यो।

तर त्यसबेलासम्म बाढीको गति धेरै कम भइसकेको थियो।

त्यसैले परिसरमा पानी र गेग्रान पसे पनि कारागार भवनमा ठूलो क्षति हुन पाएन।

ज्यान जोगिएपछि सुरु भयो अर्को चुनौती

बाढीको तत्काल खतरा कम भयो। तर सुरक्षाकर्मीका लागि चुनौती सकिएको थिएन।

कारागारभित्र रहेका ९२३ कैदीबन्दीको ज्यान जोगाउनु मात्र होइन, उनीहरूमा फैलिएको त्रास नियन्त्रण गर्नु पनि उत्तिकै कठिन काम थियो।

बाढीको भयावह दृश्यपछि कैदीबन्दीहरू आत्तिए। केही तितरबितर हुन थाले।

५० भन्दा बढी कैदीबन्दी मूल गेटभन्दा बाहिर आएर होहल्ला गर्न थाले।

स्थिति नियन्त्रणमा लिन इन्चार्ज यादवले ११ राउन्ड हवाई फायर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप प्रहरी जनशक्ति परिचालन भयो।

बाढीको त्रास, कैदीबन्दीको भीड र कमजोर बनेको भौतिक संरचनाबीच सुरक्षाकर्मीले एकैपटक धेरै मोर्चा सम्हालिरहेका थिए।

बाढीबाट बचाए, तर भाग्न खोजे

बाढी शान्त हुन थालेपछि अर्को अप्रत्याशित घटना भयो।

कारागारभित्र प्रवेश गर्ने क्रममा दुई जना कैदीबन्दी खेत हुँदै जंगलतर्फ भाग्न थाले।

“हामी त्यहाँ पुग्दा कैदीबन्दी हामीलाई बाढीबाट ज्यान बचाउँछौँ, भाग्दैनौँ भन्दै थिए, यद्यपि हामीहरू सतर्क थियौँ,” यादवले भने, “यत्तिकैमा दुई जना खेतैखेत जंगलतर्फ भाग्न थाले।”

यादव आफैँ उनीहरूको पछाडि दौडिए।

दिउँसो करिब ११ बजे दुवैलाई पक्राउ गरी कारागारमा फर्काइएको थियो।

११ः३० बजेपछि बाढी रोकियो, त्रास रोकिएन

दिउँसो ११ः३० बजेसम्म बाढी शान्त भयो। कैदीबन्दीलाई फेरि कारागारभित्र व्यवस्थापन गरियो।

तर त्रास भने त्यति सजिलै सकिएन।

त्रिशूली नदीमा फेरि बाढी आउन सक्ने जोखिम कायमै थियो। त्यसमाथि बाढीले कारागारका पूर्वाधार कमजोर बनाएको थियो।

त्यसै कारण भदौ १२ गते कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गरियो।

अहिले ८८७ कैदीबन्दी, सुरक्षा अझै चुनौतीपूर्ण

बाढीबाट दुई वटा ब्लक प्रभावित भएपछि अहिले बालसुधार गृहका १३८ जनासहित ८८७ कैदीबन्दी कारागारमा रहेका छन्।

सशस्त्र प्रहरी बलतर्फ थप ३० जना जनशक्ति परिचालन भएपछि त्यहाँ ६२ जना सशस्त्र प्रहरी पुगेका छन्। नेपाल प्रहरीका २० जना पनि कार्यरत छन्।

दुई वटा ब्लक प्रभावित भएपछि कैदीबन्दी र बालसुधार गृहमा रहेकालाई एउटै युनिटभित्रका दुई ब्लकमा व्यवस्थापन गरिएको छ।

तर सुरक्षाका दृष्टिले यो व्यवस्था पनि जोखिमपूर्ण रहेको त्यहाँ कार्यरत सुरक्षाकर्मीहरू बताउँछन्। बाढीले कमजोर बनाएको संरचना र नदीको निरन्तर जोखिमका कारण थप सुधार आवश्यक देखिएको उनीहरूको भनाइ छ।

हाल कारागारको प्रशासनिक भवनसमेत त्रिशूली नदी किनारबाट सुरक्षित स्थानमा सारिएको छ।

भदौ १० गते बिहान आएको एउटा फोनले सुरु गरेको त्यो दौडधुपले एउटा कुरा भने स्पष्ट पारेको छ—बाढीले कारागारका पर्खाल भत्काउन सक्यो, तर त्यहाँ खटिएका सुरक्षाकर्मीको जिम्मेवारी र सतर्कता भत्काउन सकेन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय शोकमा देश, बेपत्ताको खोजीदेखि पुनर्निर्माणसम्मको चुनौती

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

सम्बन्धित

कांग्रेसभित्र नयाँ मोड : क्रियाशील सदस्यताको गाँठो फुक्यो, महाधिवेशन सार्ने बाटो खुल्यो

भोटेकोशी बाढी : १ हजार ३५३ शव फेला, ३ हजार ९९२ अझै बेपत्ता

भोटेकोसी बाढीमा राहतसँगै शक्ति प्रदर्शन : नेपाल आए भारत, चीन र अमेरिकाका सैन्य विमान

वैज्ञानिक निष्कर्ष : ‘हिमाल पग्लियो, नदीको धार फेरियो, अब विकासको मोडल बदल्नुपर्छ’

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ

नेपालका बाढीपीडितलाई २९ भन्दा बढी देशको साथ, खोज तथा उद्धारदेखि राहतसम्म सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu