काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज देश राष्ट्रिय शोकमा छ। सरकारले मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउँदै देशभर राष्ट्रिय शोक मनाउँदैछ।
तर, राष्ट्रिय शोक केवल मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्ने दिनमा सीमित छैन। हजारौँ बेपत्ताको खोजी तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र बाढीले भत्काएको संरचना तथा जनजीवन पुनर्निर्माण गर्ने राष्ट्रिय जिम्मेवारी पनि उत्तिकै चुनौतीपूर्ण बनेको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ। तर, करिब ४ हजार १९६ जना अझै सम्पर्कविहीन छन्। बाढीमा १ हजार ३४२ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने ९८ शवको सनाखत भइसकेको छ।
सम्पर्कविहीन हुनेमा नेपाली नागरिकसँगै सुरक्षाकर्मी, कर्मचारी र विदेशी नागरिकसमेत छन्। रसुवाबाट करिब १ हजार ८५७ र नुवाकोटबाट करिब २ हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन रहेको विवरण छ। यस्तै करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र ५९९ विदेशी नागरिक पनि सम्पर्कविहीन छन्।
आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सुरक्षाकर्मी
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौँ जनशक्ति खोज तथा उद्धारमा निरन्तर परिचालित छन्।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा २१ हजार ४६५ सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेनाले हवाई साधनमार्फत १ हजार ४५ पटक र निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहतलाई तीव्रता दिएका छन्।
भोटेकोशी बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना अझै सम्पर्कविहीन छन्। आफ्नै सहकर्मीको अवस्था अज्ञात हुँदाहुँदै पनि सुरक्षाकर्मी प्रभावित क्षेत्रमा उद्धार र खोजीमा खटिइरहेका छन्।
उद्धारसँगै उपचार र आश्रय
बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत जारी छ। हालसम्म ६ हजार ७३ जनाले स्वास्थ्य सेवा पाएका छन्। विभिन्न अस्पतालमा ३२३ जना उपचाररत छन्।
उद्धार गरिएका नागरिकको व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। हाल ३ हजार ९१२ जना त्यहाँ रहेका छन्। उनीहरूका लागि खाद्यान्न, जेनेरेटर, हाइजेनिक किट, विद्यार्थी किटलगायत सामग्री उपलब्ध गराइएको छ। प्रभावित नागरिकका लागि मनोसामाजिक परामर्शसमेत सञ्चालन भइरहेको छ।
अबको चुनौती पुनर्स्थापना र पुनर्निर्माण
बाढीको तत्कालीन उद्धार र राहतपछि अब राज्यसामु पुनर्स्थापना र पुनर्निर्माणको ठूलो चुनौती छ। बाढीले सडक, पुल, बस्ती, विद्युत् तथा जलविद्युत् संरचनामा व्यापक क्षति पुर्याएको छ।
विद्युत् आपूर्ति भने क्रमशः सामान्य बन्दै गएको छ। रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ।
तर, क्षतिग्रस्त सडक र पुल निर्माण, विस्थापित परिवारको सुरक्षित पुनर्वास, रोजगारी तथा जीविकोपार्जनको पुनर्स्थापना र ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण अझै बाँकी छ।
त्यसैले आजको राष्ट्रिय शोक मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन मात्र होइन—बेपत्ताको खोजी, पीडितको पुनर्स्थापना र विपत्ले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिन पनि हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्