बुटवल, १२ वैशाख । पटक–पटकको आग्रह अटेर गरेपछि बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर निर्माण गरेका संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ । उक्त कार्यमा स्थानियहरुबाट अवरोध हुने भन्दै तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए ।
एक हप्ताको समय हिजो सकिएको थियो । अघिल्लोपटक डोजर चल्न थाल्दा विरोधमा उत्रिएका घरधनीहरु आज भने चुपचाप देखिए । घर भत्किने जानकारी हुँदा पनि व्यवसायीहरु भने पसल सञ्चालन गरेर बसिरहेका थिए । एक्कासी आयोजनाका कर्मचारी सुरक्षाकर्मीलाई लिएर जाँदा व्यवसायीहरु अन्योलमा परेका थिए ।
राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक क्षेत्र मिचेर बनेका छन् । सडक मिचेर बनेका सबै संरचना हटाउन केही दिन लाग्ने आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस्