काठमाडौ, १४ वैशाख । पिडितहरुले दिएको विभिन्न उजुरीको आधारमा वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा २२ वटा म्यानपावर कम्पनीलाई कारवाही गरेको छ ।
विभागमा चालू आर्थिक वर्षमा कूल ७ सय ६९ वटा म्यानपावर विरुद्ध उजुरी परेको थियो । जसमध्ये ७ सय १८ वटा उजुरीहरु समाधान गरिएको र करिब ५० उजुरीहरु समाधान हुने प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागका राहत तथा उद्दार शाखाका निर्देशक शशीकुमार लम्सालले जानकारी दिए ।
रोजगारीका लागि विदेश जाने कामदारहरुको विवरणलाई अद्यावधिक गर्नको लागि परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयसँग समन्वय गरिसकिएको लम्सालले बताए ।
वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि पुरा गर्नुपर्ने श्रमको प्रक्रियालाई छिटो छरितो र सहज बनाउन काठमाडौं भन्दा बाहिर तीन स्थानमा श्रम स्वीकृति लिन सकिने व्यवस्था गर्न लागिएको लम्सालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्