बझाङ, २० वैसाख । बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जयपृथ्वी नगरपालिकाको वडा ७ को सुबेडा स्थित सिसानीको चौठया खोलामा से १ ज ८२० नम्बरको जीप रोडबाट करिब ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङ अनुसार गएराति अविरल हावाहुरी र बर्षाका कारण दुघटना भएको हुनसक्ने प्रहरीले बताएको छ । दुर्घना भएको जीपमा सवार चालक रमेश चन्द, चैनपुरस्थित भावना कस्मेटिकका अम्मरराज वन र खप्तडछान्ना गाउपालीका पुष्पराज रावलको अवस्था अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।
गाउँको बगेको खानेपानी पाईप खोज्न जाँदा जीप भेटियो हो । ठुलो हावाहुरीसँगै असिनापानी आएको हुनाले सुवेडाका स्थानियबासीको खानेपानी पाईप बगाएको थियो ।
बिहानै पानी नआएपछि पत्रकार दिपक जोशी र स्थानिय खानेपानी पाईप खोज्दै सिसानीको चौठया खोला पुगेका थिए । खोज्दा खोज्दै पाङ्ग्रा र जीपको आधा भाग देखिएको जोशीले बताए । उनले भने, ’बिहानै खानेपानीको पाईप खोज्दै हिँडेका थियौं, जीप पो भेटियो हतार,हतार सबैलाई खबर गर्न सफल भयौं । हाम्रो पाईप अझै भेटिएको छैन । ’ खोलामा बाढीसँगै जीप बगेको हुनसक्ने उनको अनुमान गरीएको छ । अहिले घटनास्थलमा नेपाली सेना, स्थानिय, प्रहरी र रेडक्रसको टिमले उद्दार कार्य जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्