रसुवा, २१ वैशाख। विसं २०७२ को भूकम्पले क्षति पु-याएको जिल्लाका सबै स्वास्थ्य चौकी र अस्पताल पुनःनिर्माण भएपछि ग्रामीणवासीको उपचार सेवामा सहज भएको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख डा गुणनिधि शर्माका अनुसार जिल्लामा स्थापित १८ स्वास्थ्य चौकी र एक जिल्ला अस्पतालमध्ये एक प्राथमिक स्वास्थ्य चौकी बाहेक १८ स्थानका संरचनामा क्षति पु-याएकाले रेडक्रस र गैरसरकारी संस्थाको सहयोगमा पुनःनिर्माण भएपछि उपचार सेवा प्रदान गर्न सहज भएको हो ।
निर्माण भएका स्वास्थ्य संस्थामध्ये प्रिफेव्रिकेटेड मोडलबाट नेपाल रेडक्रसले १५ सय्याको जिल्ला अस्पताल, करुणा फाउण्डेशन नामक गैससले प्रिफ्याफ मोडलको १० वटा स्वास्थ्य चौकी नयाँ निर्माण र तीन वटा सवलीकरण, माथिल्लो त्रिशूली–१स्थित २१६ मेगावाटको विद्युत आयोजनाले एक, सेभ द चिल्डे«न नामक गैससले एक र शहरी विकासअन्तर्गत भवन डिभिजनले दुई वटा स्वास्थ्य चौकी निर्माण गरेको बताइएको छ ।
भूकम्पको असरले स्वास्थ्य चौकी भत्किएपछि पुनःनिर्माणमा दाताहरुले गरेको योगदान अविस्मरणीय रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
त्रिपालमुनि सञ्चालन गरिएको जिल्ला अस्पताल र गाउँगाउँका स्वास्थ्य चौकीको पुुनःनिर्माणपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवप्रसाद बडालले बताउनुभयो ।
जिल्ला अस्पतालको बैरङ्गबाट दैनिक २५–३० जना र अन्तरङ्ग कक्षमा साप्ताहिक रुपमा ५–६ जनाले उपचार सेवा दिइरहेका छन् । यसैगरी स्वास्थ्य चौकीमा दैनिक पाँचदेखि २० जनासम्मले सेवा लिन आउने भए पनि उपचार सेवा जनघनत्वको हिसाबले उत्तरी क्षेत्रभन्दा दक्षिणी भेगका स्वास्थ्य चौकीमा बढी चाप हुने गरेको उक्त कार्यालयले जनाएको छ । जिल्लाको जनसंख्या ४३ हजारको हाराहारीमा छ ।
प्रतिक्रिया दिनुहोस्