जनकपुर, २२ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार भएको चुनावमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् ।
मुलुक संघीय संरचनामा गएपछि महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार मतदान भएको छ। प्रदेश २ का कृषि तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्र साहले सप्तरीमा मतदान गरेका छन्।
प्रदेशसभाका सांसद रामआशिष यादव र सरस्वती चौधरीले धनुषा महासंघमा मतदान गरेका छन्। महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जलेश्वर शाखामा पुगेर मतदान गरे। प्रदेशसभा सांसद यादव र मेयर मण्डल क्रमश पत्रकार महासंघ धनुषा र महोत्तरीका पूर्व अध्यक्ष समेत हुन्।
मन्त्री साह र सांसद यादव संघीय समाजवादी फोरमका नेता हुन्। चौधरी नेपाली कांग्रेसबाट सामनुपातिक प्रदेशसभा सांसद हुन्। मेयर मण्डल राष्ट्रिय जनता पार्टी(राजपा)बाट जितेका हुन्।
नेपाल पत्रकार महासंघको सदस्यसमेत रहेका मन्त्री साहले मतदान गर्नकै लागि सप्तरी पुगेका छन्। महासंघको परिसरमा भएको मतदानमा उनले मत दिए। प्रदेशसभा सांसद यादव र चौधरी धनुषा महासंघमा पुगेर मतदान गरे। नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री र प्रदेशसभाका सदस्यले नै मतदानमा समेत सहभागि भएका छन्।
नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लड्दा महासंघको सदस्यता त्याग गरेका थिए। उनी नयाँ शक्ति पार्टीबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए।
प्रतिक्रिया दिनुहोस्