भक्तपुर,२२ वैशाख । मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ ।
गएको ८ गते शनिवार उहाँकै घरमा केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका श्रेष्ठको घरमा शनिबार राति तोडफोड गरिएको हो ।
त्यही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाको बारेमा जानकारी दिँदै भन्नुभयो, ‘सीसी क्यामराको दृश्य हेर्दा राति दुई जनाको समूहमा आएका व्यक्तिले मेयर साबको घरको मूल ढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।’
नेपाल कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएको नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘घरमा तोडफोड भयो भन्ने सुने, म माथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राउ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो रे ,
महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले मेयरमाथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताउनुभयो ।
तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उहाँले घटनाबारे अनुसन्धान सुरु गरेको बताउनुभयो । त्यसैगरी, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी मध्यपुर थिमि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणविरुद्ध १५१ सदस्य रहेको सामूहिक नेतृत्व संघर्ष समिति गठन गरेको छ ।
मध्यपुरथिमिमा शनिबार भएको स्थानीयहरुको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दवाव दिन, मेयरको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका सदस्य नविन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्