काठमाडौं – कलाकारले आफूलाई चरित्रमा फिट देखाउन विभिन्न गेटअप गर्नुपर्ने हुन्छ । जुन गेटअपले कहिलेकाहिँ कलाकारको सौदर्यमा समेत प्रभाव पारिरहेको हुन्छ ।
यस्तै आफ्नो सौन्दर्यमा प्रभाव पार्ने खालको गेटअप अभिनेत्री दीपशीखा खड्काले पनि गरेकी छन् । अभिनेत्री दीपशीखाले चलचित्र ‘प्रेमलिला’का लागि आफ्नो पूरै कपाल मुन्डन गरेर नयाँ गेटअप बनेकी छन् ।
कपाल पूरै मुण्डन गर्नु भएछ नि ? भन्ने प्रश्नमा उनले भनिन्, ‘चलचित्र अभिनयका लागि यो गेटअप बनाएको हो । यस बाहेक अन्य जानकारी दिन मिल्दैन ।’
एक कार्यक्रम सहित घोषणा गरिएको चलचित्रको अहिले छायाँकन भइरहेको छ । चलचित्रमा रहने ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत केही दिन अगाडी पोखरामा छायाँकन गरिएको थियो । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका थिए । गीतमा अभिनेत्री दीपशीखा खड्का र नायक अली खानको अभिनय समेटिएको छ ।
प्रेमकथामा बनेको यो चलचित्र छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसनको स्वर रहेको छ । चलचित्र नायिका दीपशीखाले नै निर्माण गरेकी हुन् । अभिनेता खानको यो डेब्यु चलचित्र हो । उनी बलिउडबाट नेपाल भित्रिएका हुन् ।
अभिनेत्री दीपशीखाकै कथा रहेको ‘प्रेमलिला’ जनक पाण्डेले निर्देशन गरिरहेका छन् ।
महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको चलचित्रमा दीपशीखा र अलीको अलवा सुरज तमु र रेखा शाहको समेत मुख्य भूमिकामा अभिनय रहनेछ ।
प्रतिक्रिया दिनुहोस्