काठमाडौं, २६ वैशाख । गृहमन्त्री राम बहादुर थापा बादलले नेपाललाई रक्सीमुक्त बनाउन लागेको चर्चा चलेपछि बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले मन्त्रीनिवासमै पुगेर गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका छन् ।
आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी आवश्यक पर्ने र भगवानलाई प्रसादका रुपमा रक्सी चढाउने गरिएको जनजाति नेताहरुले गृहमन्त्रीलाई सुनाए । ‘जनजातिको चाडबाडमा विदा कटौती गरियो, त्यसैगरी सांस्कृतिकरुपमा प्रयोगमा आउने रक्सी उत्पादनमा पनि रोक लगाउन खोजिएको हो कि भन्ने हामीमा आशंका पैदा भएको छ ।’ उनीहरुले भने
आदिवासी जनजातिको बिहेबटुलो एवं आफन्तजनको भेटघाटमा लोकल रक्सी कोसेलीका रुपमा लैजाने गरिएको सुनाउँदै आदिवासी जनजाति नेताहरुले गृहमन्त्रीलाई भने, ‘सरकारले कोदोको रक्सी बन्द गरेर हामीले भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् ।’
आदिवासी जनजातिले उत्पादन गरेको लोकल रक्सी घोप्ट्याउने अनि मल्टिनेशनल कम्पनीको उत्पादनलाई छुट दिइरहने हो भने अन्याय हुने जनजाति नेताहरुको गुनासो थियो ।
जनजाति नेताहरुले लागू औषध नियन्त्रणमा भने सरकारलाई पूर्णरुपमा साथ दिने गृहमन्त्रीलाई बताए ।
जनजातिहरुको कुरा सुनिसकेपछि गृहमन्त्री थापाले स्पष्ट पार्दै भने, ‘हामीले जाँडरक्सी पूरै बन्द गर्ने भनेका हैनौं, यसलाई नियन्त्रण गर्ने भनिएको हो । म मगरको छोरो हुँ, यति कुरा मलाई थाहा छ ।’
प्रतिक्रिया दिनुहोस्