काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्न राष्ट्रिय सभाग्रहलाई चिटिक्क पारेर सजाइएको छ ।सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ ।
स्वागतद्वारको दायाँबायाँ नेपाल र भारतका झण्डा टाँगिएको छ । मोदी पौने ३ बजे सभागृहमा पुग्ने भए पनि कामपाले अन्य अतिथि तथा पाहुनालाई दुई बजेभित्रै हलमा राखिसक्ने समयतालिका मिलाएको छ ।
नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, महानगरपालिका जनप्रतिनिधि, उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी छ । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।
प्रतिक्रिया दिनुहोस्