काठमाडौं, २९ वैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष पूजाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन् । मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ गएका हुन ।
मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि पाँच करोड सहयोग घोषणा गरेका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।
त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उनले बताए । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ । चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाला निर्माण गरिरहेको छ । धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्