कपिलवस्तु, २९ वैशाख । कूटनीतिका नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सब–इन्स्पेक्टरसहित ३ जना भारतीय प्रहरी पक्राउ परेका छन् ।
शुक्रबार कृष्णनगर बजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सब–इन्स्पेक्टर डीएस चर्तुवेदी, कस्टेवल नासिर हुसेन र कस्टेवल कोमललाई शुक्रबार पक्राउ गरिएको हो । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।
शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिनुभयो ।
नेपाली सुरक्षाकर्मीहरुको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति १०ः३० बजे भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको छ । भारतीय पक्षको दवावका कारण पक्राउ परेका उनीहरुलाई रातारात सुटुक्क छाडिएको छ ।
कूटनीतिक मर्यादा विपरित हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गर्नु अत्यन्त गम्भीर विषय रहे पनि यसलाई स्थानीय प्रशासनले भने निकै सहज ढंगबाट लिएको छ । भारतीय सुरक्षाकर्मीहरु हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदा समेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई पत्तो नचल्नुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो रहेको कृष्णनगरका सर्वसाधारणहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस्