सुर्खेत, ६ जेठ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानूनको मस्यौदा तयारीमा सहयोग पु-याउनका लागि यथाशीघ्र प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरिएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।
त्यस्तै यही जेठ २ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्कमा दुर्घटनाग्रस्त मकालु एयरको जहाजमा ज्यान गुमाउने चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्ने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।
बैठकमा चालकद्वयले कर्णाली प्रदेशका लागि पु-याएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
त्यसैगरी लागुऔषध नियन्त्रणसम्बन्धी विधेयक र कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि प्रादेशिक मन्त्रीपरिषद्ले गरेको छ ।
आज भएका महत्वपूर्ण ६ निर्णयहरु यस्तो-
1. हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरियो । चालकहरुले कर्णाली प्रदेशको पुरयाएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने ।
2. आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई लागु औषध नियन्त्रण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।
3. कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुरयाउनका लागि यथासिघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने ।
4. कर्णाली प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने ।
5. विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जन सहित पुर्व वजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने ।
6. कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरि जिम्मेवारी दिईयो ।
प्रतिक्रिया दिनुहोस्