काठमाडौं, ९ जेठ । कार्यालयको मर्यादा पालना नगरेको भन्दै सिंहदरबारको ४८ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बुधवार गरेको छड्के अनुगमनका क्रममा दुई मन्त्रालयका तीन दर्जन कर्मचारीले मर्यादा पालना नगरेको पाइएको छ ।
केन्द्रले कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा बिहान एकैसाथ गरेको अनुगमनमा वन मन्त्रालयका नौ जना कर्मचारी तोकिएको समयमा कार्यालय नआएका र तीन जनाले तोकिएको पोसाक नलगाएको पाइएको केन्द्रले जनाएको छ ।
त्यस्तै, कृषि मन्त्रालयमा २४ जनाले कार्यालय आउँदा समय पालना नगरेको र १२ जनाले तोकिएको पोसाक नलगाएको पाइएको केन्द्रले जनाएको छ । अनुगमनका क्रममा उपसचिव तहसम्मका कर्मचारीले मर्यादा पालना नगरेको पाइएको हो।
न्यूनतम मर्यादा पालना नगर्ने दुवै मन्त्रालयका गरेर ४८ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रले बताएको छ ।
उनीहरूलाई निजाती सेवा नियमावली अनुसार कारवाही हुने केन्द्रको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्