काठमाडौं, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब)को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो।
करीब डेढ हप्ता पहिले आइतबारसँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए। पूर्वी नेपालबाट रोजगारीका लागि मलेसिया पुगेका चारजना साथीले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो।
मृतक क्षेत्रीको बिहीबार स्थानीय अस्पतालमा शव परीक्षण भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने बताइएको छ। २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन्।
परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार शोकमा डुबेको छ। आमा देवी क्षेत्री अर्धचेत अवस्थामा रहेको बताइएको छ।
क्षेत्रीलाई कुटपिट गरी हत्या गर्ने चारै जना नेपालीलाई प्रहरीले नियन्त्रण लिइसकेको पनि पारिवारिक स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्