विश्वकप २०१८ समूह ई – ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्विया।
समूह ‘ई’मा पाँच पटकको विश्वविजेता ब्राजिल परेको हुँदा सवैको चासो यहि समूहमा छ। उत्तर अमेरिकी राष्ट्र कोस्टारिका र स्विट्जरल्यान्ड पनि यहि समूहमा छन्। विश्वकपमा चुक्दै आएपनि दुवै टिममा उत्कृष्ट खेलाडी समावेश छन्। सर्विया पनि युवा खेलाडीले भरिपूर्ण टिम हो। तुलनात्मक रुपमा यो समूहमा ब्राजिललाई बलियो मानिएको छ। अन्य तीन टिमको स्तर समान छ।
समूह ‘ई’ मा ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेललाई महत्वपूर्ण मानिएको छ। दुई टिमबीच जुन १७ मा रोस्टोभमा खेल हुनेछ। यो समूहको उपविजेताले अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन जर्मनीको सामना गर्ने प्रवल सम्भावना छ। त्यसलै ब्राजिल र स्विट्जरल्यान्डको ध्यान जर्मनीसँग अन्तिम १६ को प्रतिस्पर्धा टार्न समूह विजेता बन्ने बन्नु हुनेछ। आक्रामक रुपमा उत्रने ब्राजिल सामू स्विट्जरल्यान्ड डिफेन्सिभ खेल्ने अनुमान गर्न सकिन्छ।
के तपाईलाई थाहा छ?
स्विट्जरल्यान्डले प्लेअफमार्फत २०१८ को विश्वकपमा टिकट काटेको हो। युरोप छनोटको समूह ‘बी’ मा २७ अंक जोडेपनि स्विट्जरल्यान्ड प्लेअफमा धकेलिएको थियो। अन्तिम खेलमा पोर्चुगलसँग २–० गोल ले पराजित भएपछि स्विट्जरल्यान्ड प्लेअफ खेल्न बाध्य भएको थियो।
सन् २०१६ जुनमा टिटे प्रशिक्षकमा नियुक्त भएपछि ब्राजिलले उत्कृष्ट खेल पस्कदै आउको छ। उनी नियुक्त पहिलो खेल जित्दै ब्राजिल दक्षिण अमेरिका विश्वपक छनोटको पाँचौ स्थानबाट दोस्रो स्थानमा उक्लिएको थियो। २ खेलपछि ब्राजिलले शीर्षमा कब्जा जमाएको थियो। त्यसपछि ब्राजिलले शीर्ष स्थानमै रहेर छनोट पूरा गर्यो।
ब्राजिल, स्विट्जरल्यान्ड र सर्विया (पहिलाको युगोस्लोभाकिया) सन् १९५० को विश्वकपमा पनि एउटै समूहमा परेका थिए। ब्राजिलमा आयोजना भएको विश्वकपमा एकै समूहमा परेको ६८ वर्षपछि ३ टिम एउटै समूहमा परेका हुन्।
२०१८ फिफा विश्वकपमा छनोट चरण पार गरेको पहिलो टिम ब्राजिल हो। ब्राजिलले दक्षिण अमेरिका छनोट अन्तर्गत २८ मार्च २०१७ मा पाराग्वेलाई ३–० ले पराजित गर्दै रसियाको टिकट पक्का गरेको थियो।
समूह ‘ई’का चार टिमको विश्वकप इतिहास
ब्राजिल
ब्राजिल दक्षिण अमेरिकाबाट रसियामा आयोजना हुने विश्वकपका लागि छानिने पहिलो देश हो। छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्व कप खेल्दै छ। यो सौभाग्य ब्राजिललाई मात्र प्राप्त छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शीर्ष स्थान हात पारेको थियो। सन् १९३० देखि ब्राजिलले लगातार विश्वकप खेल्दै आइरहेको छ। विश्वकपको सबैभन्दा सफल टिम मानिने ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ।
सर्बिया
सर्बिया युरोप छनोटको समूह ‘डी’ मा शीर्ष स्थानमा रहेर विश्व कपका लागि छनोट भएको हो। सर्बियाले पछिल्लो पटक सन् २०१० को विश्व कप खेलेको थियो। विश्वकपमा सर्बिया १२औं पटक मैदानमा उत्रिँदै छ। सर्बियाको नाममा भने ऊ दोस्रो पटक विश्व कपमा छनोट भएको हो। सर्बिया एन्ड मोन्टेनेग्रोको नाममा दुई पटक विश्व कपमा सहभागिता जनाएको यो देशको पुरानो नाम युगोस्लाभिया हो। युगोस्लाभियाले विश्व कपमा सात पटक सहभागिता जनाएको थियो। युगोस्लाभियाले १९३० र १९६२ मा चौथो स्थान हात पारेको थियो।
स्विट्जरल्यान्ड
युरोप छनोटको ‘प्लेअफ’ मार्फत स्विट्जरल्यान्डले विश्व कपमा स्थान पक्का गरेको हो। ‘प्लेअफ’ मा उत्तरी आयरल्यान्डलाई समग्रमा १–० ले पराजित गर्दै यो देश लगातार चौथो पटक विश्वकप खेल्दै छ। समग्रमा स्विट्जरल्यान्डले एघारौं पटक विश्व कप खेल्न लागेको हो। यसको राम्रो प्रदर्शन १९३४, १९३८ र १९५४ मा क्वार्टरफाइनल पुग्नु हो। स्विटजरल्यान्डले १९३४, १९३८, १९५०, १९५४, १९६२, १९६६, १९९४, २००६, २०१० र २०१४ को विश्व कपमा सहभागिता जनाएको थियो।
कोस्टारिका
उत्तर अमेरिकी छनोटमा दोस्रो हुँदै कोस्टारिकाले पाँचौ पल्ट विश्व कपको टिकट पक्का गरेको हो। उसले १९९०, २००२, २००६ र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। कोस्टारिकाले २०१४ को विश्व कपमा क्वार्टरफाइनलमा स्थान बनायो। यो नै उसको उच्च प्रदर्शन हो।
प्रतिक्रिया दिनुहोस्