हत्या प्रयासबाट श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती उनको असार ६ गते प्रसुति मिति तोकिएको थियो । उनको पेटमा रहेको बच्चा अप्रेसन गरे निकालिए पनि मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गर्भवती सुमित्राले हिजो साँझ ६ बजे आफ्नो सुत्केरी हुने डेट असार ६ गते भएको श्रीमान रामजी घलेलाई सम्झाएकी थिइन् । राति १२ बजेतिर सुमित्राले पेट दुखेको भन्दै अस्पताल जान श्रीमानलाई आग्रह गर्दा रामजीले बिहान मात्रै अस्पताल जाने बताएपछि श्रीमान्–श्रीमतीबीच भनाभन हुँदा रामजीले तरकारी काट्ने चक्कु निकालेर श्रीमतीको घाँटीमा प्रहार गरेका हुन् ।
लगत्तै छोरा ज्ञापन घलेको कोठामा पसेर उनको पनि चक्कुले घाँटी रेटेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । रामजीले छोराको हत्या प्रयास गरेपछि सुमित्राले हारगु्हार गरेपछि छिमेकीहरु आएका थिए । छिमेकीले हेर्दा मृत छोराको शव नजिकै रामजीले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका स्थानीय वासिन्दाले बताएका छन् । रामजीको मणिपाल शिक्षण अस्पताल पोखराको आईसीयू कक्षमा उपचार भइरहेको छ । श्रीमती सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
श्रीमती सुमित्राको घाँटीको रुद्रघण्टी नजिकै प्वाल परेको छ । उनको अपरेसन सफल भएमा बाँच्ने सम्भावना रहेको बताइएको छ । तर आत्महत्याको प्रयास गरेका रामजीको भने अवस्था चिन्ताजनक छ । घट्नालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति नै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वको टोली पुगेको थियो । हत्यापछि आत्महत्याको प्रयास गरेका रामजी झगडालु स्वाभावको नभएको स्थानीयबासीले बताएका छन् ।
परिवारका अनुसार उनीहरुबीच यसअघि खासै मनमुटाव र झगडा भएको पनि थाहा नभएको उनीहरुको भनाइ छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्