चितवन , १५ भाद्र । चितवन जिल्ला लागु औषधको मुख्य ट्रान्जिट प्वाइन्ट रहेको एक तथ्यांकले देखाएको छ । लागू औषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले गएको तीन बर्षमा तीन सय तीन जनालाई पक्राउ गरेपछि जिल्लामा लागू औषधले जरा गाडेको पाइएको हो । चितवन प्रहरीबाट प्राप्त तथ्यांकअनुसार लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सबैभन्दा बढी आर्थिक वर्ष ०७२÷०७३ मा एक सय २० जना मानिसलाई पक्राउ गरेको डाटा सार्वजनिक भएको छ । त्यस्तै, प्रहरीको अर्को तथ्यांक अनुसार लागूऔषध ओसारपसारमा कम भएको आर्थिक वर्ष ०७२÷०७३ रहेको उल्लेख गरेको छ । सो अवधिमा प्रहरीले ७१ वटा मुद्दा दर्ता गराएकोमा चार जना मानिस अझै फरार रहेको र उनीहरुको खोजीकार्यमा प्रहरीले कडाइका साथ अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा ठूलो परिणामको लागू औषध सहित ९३ जना पक्राउ परेको डाटामा उल्लेख छ । उहाँका अनुसार आर्थिक वर्ष २०७३÷०७४ लागु औषध सम्बन्धी ५२ वटा मुद्दामा एक सय नौ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा परेको र मुद्दा परेका मध्ये प्रहरीले आर्थिक वर्ष ०७३÷०७४ मा ९३ जनालाई पक्राउ गर्न सफल भएको थियो भने १६ जना अझैसम्म फरार नै सूचीमा रहेको उनले बताए । त्यस्तै , आर्थिक वर्ष ०७४÷०७५ मा चितवन जिल्ला अदालतमा ६२ वटा लागु औषध सम्बन्धी मुद्दामा ९६ जना विरुद्ध मात्रै उजुरी दिएपनि ९० जना मात्रै पक्राउ परेको र पक्राउ परेका मानिसहरूलाई लागुऔषध मुद्दा अन्तर्गत पक्राउ गरेर कार्वाही प्रक्रियालाई अगाडि बढाइएको समेत राठौर बताउनुहुन्छ । उहाँका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मुद्दा दायर गरिएका मध्ये ६ जना अभियुक्त अझै फरार छन् । पछिल्लो तीन वटा आर्थिक वर्षमा प्रहरीले लागु औषध सम्बन्धी एक सय ८५ वटा मुद्दामा तीन सय २९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । सबै मुद्दाको फैसला हुँदा प्रहरीले तीन सय तीन जना अभियुक्त लाई मात्रै पक्राउ गर्न सफल भएको छ भने २६ जना अभियुक्त अझै फरार रहेका छन् ।
तीन महिना मै लागू औषधसेवनकर्ता ३५ पक्राउ ।
लागूऔषध ओसारपसारमा संलग्न अभियुक्तलाई पक्राउ गर्न चितवन प्रहरी आक्रमक रूपमा लागिपरेको छ । जिल्लामा लागू औषध ओसारपसार हुने गरेको घट्ना बाहिरिए पछि टोली नै बनाइ खटिएको प्रहरीको बिशेष टोलीले बितेको तीन महिना १३ दिन मै ३५ जनालाई पक्राउ गर्न सफल भएको हो ।
कुन मितिमा को को समातिए ?
• असार ५ गते दिउँसोको चार बजे प्रतिबन्धित लागूऔषधसहित भरतपुर महानगरपालिका वर्डा नम्बर ७ तेह्रसाल चोकबस्ने बर्ष ३३ को मनिश गुरुङ्ग लगायत पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ३० एम्पुल , ब्युपिनफिर्न ३० एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई लागूऔषध (नियन्त्रण ऐन ) २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको छ ।
• भरतपुर महानगरपालिका – ३ नारायणगढ शहिदचोकबाट प्रहरीले लागूऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नंं.९ बस्ने वर्ष १९ का खुर्सेद अन्सारी रहेका छन् । प्रहरीले उनको साथबाट लागूऔषध नाईट्राजेपाम २९ ट्यावलेट बरामद गरेको छ । पक्राउ परेका अन्सारीलाई प्रहरीले लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।
• वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको विशेष टोलीले साउन २२ गते दिउँसोको चार बजे ठूलो मात्रामा लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । शंकास्पद आधारमा रहेका उनीहरुलाई ना २४ प ११०० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ३ स्थित न्यूरोड बाट लागू औषध कारोवारमा संलग्न नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वर्डा नम्बर एक बस्ने बर्ष २४ को किरण जिसी, भरतपुर महानगरपालिका ३ बस्ने बर्ष २४ को बुद्धि गुरुङ , भरतपुर महानगरपालिका ७ कृष्णपुर बस्ने बर्ष २१ का लाल कृष्ण ढकाल, भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने बर्ष २६ का सलिम मियाँ र खैरहनी नगरपालिका १ ज्यामिरे बस्ने बर्ष १९ का अमृत आचार्य छन् । ती मध्य लालकृष्ण , सलिम र अमृतलाई प्रहरीले २६ गते पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले १ सय १५ एम्पुल डाइजेपाम, १ सय १५ एम्पुल ब्युप्रिनर्फिन, १ सय १५ एम्पुल फेनारगन, १५ सय ४५ ट्यावलेट नाइट्राजेपाम, ४८ क्याप्सुल स्पास्मो प्रोक्सिभन , ११ बोतल फेन्सिडिल र ४ बोतल वाइरफसेरफ बरामद गरेको बताइएको छ । पक्राउ परेका सबैलाई साउन २३ गते नै लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रियालाइ अघि वढाइएको छ ।
• प्रहरीको विशेष टोलीले बिहीबार लागुऔषधसहित एक जना लाई भरतपुर महानगरपालिका १० विक्रममार्गबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने २० वर्षीय सुवास राई रहेका छन् । प्रहरीले उनको साथबाट लागुऔषध डाईजेपाम १४४ एम्पुल, व्युप्रिनर्फिन १४२ एम्पुल र फेनारगन १४० एम्पुल बरामद गरेको हो ।
• जेठ १९ गतेका दिन राप्ती नगरपालिका वडा नं.१ महादेवटार स्थित सुरदेवी सामुदायिक वन जङ्लमा लुकाई राखेको अवस्थामा ५० किलो प्रतिबन्धित लागु औषध गाँजा फेला पारी बरामद गरेको छ ।
• जेठ २७ गतेका दिन भरतपुर महानगरपालिका वडा नं.१० स्थित बाट बी.आर.०६.पी. ०७३२ नम्बरको भारतीय टाटा सुमो गाडी र सो गाडीको ढोकाहरुमा फल्स बटम बनाई सो फल्स बटम भित्र पत्रिका र प्लाष्टिकले बेरी टेपले बाँधि बण्डल बनाई लुकाई राखेको अवस्थामा १२ बण्डलमा जम्मा तौल १९ किलो २०० ग्राम लागु औषध गाँजा बरामद गरिएको छ ।
• जेठ १८ गते जिल्ला कालिकोट भटा ४ बस्ने बर्ष २४ को भुवन अधिकारीलाई खानतलासी गर्दा निजले अबैध कारोबार गर्न लुकाई राखेको भुमिन ११,१७० ट्याब्लेट, ट्रामा ११,१००, ट्रामा ११,४२० ट्याब्लेट, औषधी बिक्री गर्नको लागी तयारी बनाएको झोला ५० थान र नगद रू.१०,०००/- फेला पारी बरामद गरी औषधी व्यवस्थापन बिभाग शाखा कार्यालय बीरगञ्जलाई बुझाईएको छ ।
• त्यस्को अलावा लागु औषध दुर्व्यसनी यस चितवन जिल्लाको मुख्य समस्याको रुपमा देखा परेको हुँदा सो लाई नियन्त्रण गर्ने क्रममा प्रतिवन्धित लागु औषध उत्पादन, खरिदबिक्री सेवन, ओसारपसार तथा संचय गर्ने कार्यमा संलग्न ३४ पुरुष र १ महिला समेत गरी जम्मा ३५ जनालाई पक्राउ गरी छुट्टाछुट्टै २४ वटा मुद्दामा कारवाही गरिएको, जसमा लागु औषध डाईजेपाम ५४० एम्पुल, व्युप्रिनर्फिन ५३७ एम्पुल, फेनारगन ५३७ एम्पुल, नाईट्राजेपाम २२५३ ट्यावलेट, स्पास्मो प्रोक्सिभन ४८ क्याप्सुल, फेन्सिडिल १२०० एम.एल , गाँजा ७६ किलो बरामद गरिएको छ ।
ठूलो मात्रामा लागु औषध तथा सवारीसाधन बरामद ।
यस्तै, प्रहरीले गरेको विभिन्न सुरक्षा चेकजाँचका क्रममा पक्राउ परेका व्यक्तिहरुबाट ठूलो मात्रामा लागु औषध तथा सवारी साधन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा एक सय १० किलो गाँजा सहित १४ लिटर कोरेक्स तथा अन्य लागु पदार्थहरु बरामद गरेको थियो । यस अवधिमा डाइजेपाम एक हजार एक सय ४० एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय १७ एम्पुल, फेनारगन एक हजार एक सय ४० एम्पुल, नाइट्राजेपाम दुई हजार १० ट्याब्लेट, क्लोनाजेपाम सात सय ७० ट्याब्लेट, खैरो हिरोइन सात ग्राम सहित अन्य लागु औषधहरु प्रहरीले बरामद गरेको बताए । त्यस्तै, चितवन प्रहरीले आर्थिक वर्ष ०७३÷ ०७४ ठूलो परिमाणमा लागुऔषध सहित विभिन्न भारतीय तथा नेपाली गाडीहरु समेत बरामद गरेको थियो । प्रहरीले यस अवधिमा पाँच सय ७३ किलो चरेस, २६ किलो गाजा, ८४ ग्राम खैरो हिरोइन, डाइजेपाम एक हजार एक सय ७५ एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय ५० एम्पुल, फेनारगन एक हजार एक सय ३७ एम्पुल, नाइट्राजेपाम चार सय २३ ट्याब्लेट सहित अन्य लागु औषध समेत बरामद गरेको थियो । लागु औषध ओसारपसारमा संलग्न भएको भन्दै प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा दुई वटा ट्रक, दुई वटा भारतीय नम्बर प्लेटको टाटा सुमो र तीन वटा मोटरसाइकल समेत बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले आर्थिक वर्ष २०७४/०७५ मा दुई सय ७२ किलो गाँजा सहित अन्य लागुऔषध र सवारीसाधन समेत बरामद गरेको छ । प्रहरीले आर्थिक वर्ष २०७४÷०७५ मा खैरो हिरोइन ४५ ग्राम, नाइट्राजेपाम दुई हजार नौ सय ८४ ट्याब्लेट, व्युप्रिनोर्फिन नौ सय चार एम्पुल, फेनारगन नौ सय २३ एम्पुल, डाइजेपाम आठ सय ९९ एम्पुल, फेन्डिसिल आठ सय एमएल तथा अर्नेक्स तीन सय एमएल बरामद गरेको थियो । पक्राउ परेका मानिससँगै उनीहरुले लागु औषध ओसारपसार गर्न प्रयोग गरेका दुई वटा मोटरसाइकल, एउटा भारतीय नम्बर प्लेटको महिन्द्र बोलेरो गाडी तथा दुई वटा अटो रिक्सा समेत प्रहरीले बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।
लागू औषधको सञ्जाल तोडेरै छाड्छु : एसपी राठौर ।
यसैबीच , जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जिल्लालाई लागु औषध भय मुक्त बनाएरै छाड्ने बताउनुभएको छ । शुक्रबार बिहान विशेष समय लिएर बोल्नु हुँदै उहाँले लागू औषधको सञ्जाल तोडेरै छाड्ने बताउनुभएको हो । लागू औषध सेवनले नकारात्मक सन्देश जाने र यस्ले समाज , पारिवारिक दुबैलाइ समस्यामा पार्ने साथै जिन्दगी नै बर्बाद हुने भएकोले यस्को सञ्जाल तोड्नु आफ्नु प्रमुख उद्देश्य रहेको उनी औल्याउँन्छन् । उनले आफू जहाँ गए पनि सर्वप्रथम लागू औषधलाई नियन्त्रणमा लिनु नै प्रमुख उद्देश्य रहेको र त्यसलाई नै पहिलो प्राथमिकतामा समेत राख्ने गरेको बताए । सरुवा भएर चितवन आएलगत्तै एसपी राठौरले नयाँ घुमुवा टोली खटाइ थ्रीएस अपरेशनको सुरुवात समेत गरेका थिए । प्रहरीले सञ्चालन गरेको उक्त थ्रीएस अपरेशन अहिले प्रभावकारी समेत बन्दै गएको पाइएको छ । अवैध लागु औषधको सेवन तथा बिक्री वितरणलाई रोक्न सकिएमा शान्त तथा समृद्ध चितवन निर्माण गर्न सकिने उल्लेख गर्दै एसपी राठौर आएपछि जिल्लामा लागू औषध ओसारपसार गर्ने विरुद्ध आक्रमक भइ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्