काठमाडौं, १९ भाद्र । सरकार र नेपाल चिकित्सक संघबीचको वार्तामा मुलुकी अपराध ऐन ५ बुँदामा संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनाएपछि संघले अस्पताल बन्दको कार्यक्रमलाई आगामी सोमबारसम्मका लागि सारेको छ।
ऐन संशोधनको विषय संसदको कार्यक्षेत्र भित्र भएका कारण सहमितका बुँदा मन्त्रीपरिषद्बाट पास भएर संसदमा जाने निश्चित भएपछि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगति हुने संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए।
‘संशोधन गर्नुपर्ने बुँदामा सहमति भएको छ,’ उनले भने, ‘तर यो सहमति मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुनुपर्छ। त्यसका लागि आगामी सोमबार मन्त्रीपरिषद्को बैठक बस्ने बताइएकोले हामीले त्यो समयसम्म कुर्ने भएका हौँ।’ उनका अनुसार संघले अन्य दबाबका कार्यक्रम भने यथावत नै राखेको छ।
प्रतिक्रिया दिनुहोस्