चितवन , २३ असोज । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोडमा गएराती भीषण आगलागी भएको छ । सोमबार राती करिब ९ः४५ बजे लागेको आगो
झन्डै डेढ घण्टा पछि नवलपुरको कावासोती नगरपालिका तथा भरतपुर महानगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राति ११ः२० मा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगोलागीबाट नारायणी सामुदायिक अस्पताल अगाडि रहेको होटल तथा प्रोभिनल स्टोरमा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । महानगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको घटनास्थलमा महानगरपालिकाको बारुणयन्त्र (दमकल)आउन ढिला हुँदा आगलागीबाट धेरै क्षति भएको स्थानीयको भनाइ छ ।
आगलागीबाट होटल छहारी, पौडेल दूध डेरी एवम् प्रोभिनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । होटलको ग्यास लिक भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरले बताए । आगलागीबाट भएको क्षति विवरण प्राप्त नभएपनि लाखौँ रुपैयाँको क्षति भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्