म्याग्दी, २९ मङसिर। म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोतस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मन्दिर पुनःनिर्माणकार्यको शुक्रबार शिलन्यास गर्नुभयो । १६औँ शताब्दीमा तत्कालीन राजाले निर्माण गरेको मन्दिर विसं २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो ।
सरकारी निकाय र समुदायबाट आर्थिक सहयोग जुटाएर पुनःनिर्माण शुरु गरिएको वडाध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो । करीब रु ८० लाख लागत अनुमान गरिएको मन्दिर पुनःनिर्माणका लागि स्थानीयवासी र प्रवासीबाट हालसम्म रु २९ लाख सहयोग घोषणा भएको छ ।
कार्यक्रममा मन्त्री र सांसद भुपेन्द्रबहादुर थापाद्वयले पुनःनिर्माणका लागि सरकारको तर्फबाट बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारले धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धनको माध्यमबाट पर्यटन विकास गर्ने योजना बनाएको उहाँहरुको भनाइ थियो ।
पुरातत्व विभागबाट अनुमति लिएर उसले स्वीकृत गरेको डिजाइनअनुसार ऐतिहासिक महत्वका हातहतियार, मूर्ति, भाँडाकुँडा रहेको जगन्नाथ मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर जीर्णोद्धार गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।
कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । सुरुङ, छेलोको खत, ओखल, गस्तीस्थल, पर्खाल, इँटा, बङ्कर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शङ्ख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुङ्गालगायत सामग्री छन् ।
ताकमकोत म्याग्दीको प्रमुख शक्तिपीठ मानिन्छ । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट बाइसे÷चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ ।
यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेको पुजारी गोविन्द पौडेलले बताउनुभयो ।
पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बली चढाउन भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्