काठमाण्डौं ५, असोज । चित्रकार शान्तकुमार राईको अर्बुद रोगको कारण नेपाल क्यान्सर अस्पताल, ललितपुरमा ५३ वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार राति ९ः३० बजे निधन भएको हो । उहाँ डेढ महिनादेखि सो रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको शव आजै विहान उहाँको निवास भैंसेपाटी लगी त्यसपछि पशुपतिमा लगेर अन्तिम संस्कार गरिने भएको छ ।
उहाँले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य र नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष भएर काम गर्नुभएको थियो । उहाँ हाल आधुनिक कलाकार समाजको महासचिव हुनुहुन्थ्यो ।
उहाँले विसं २०७२ को भूकम्पबाट पीडित भएका कलाकारहरुका लागि ‘ललितकला हातेमालो अभियान’ सञ्चालन गरेर सेवा पुर्याउनु भएको थियो ।
इलाममा जन्मनुभएका राईका श्रीमती र एक छोरा हुनुहुन्छ । चित्रकार लैनसिंह वाङ्देलका शिष्य रहनुभएका राईले नेपाल, भारत, दक्षीण कोरिया, बेलायतलगायत देशमा थुप्रै पटक चित्र प्रदर्शनी पनि गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्