चितवन, ७ माघ । चितवनमा एक चेपाङ किशोरी बलात्कृत भएकी छन् । आइतबार धिादिङको गोठी बजारबाट फर्किंदै गर्दा १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा मंगलबार बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि लगिएको छ।
मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार माघ ६ गते धादिङको गोठी बजारमा घरायसी सामान किनमेल गरेर १६ वर्षीया र १० वर्षीया चेपाङ बालिकाहरु घर फर्किँदै थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले जंगलको बाटो हिँडिरहेको मौका छोपेर दुईमध्ये १६ वर्षीया किशोरीलाई कब्जामा लिएका थिए ।
ती युवकले १० वर्षीया बालिकालाई लठ्ठीले टाउकोमा हान्दै लखेटेर १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेका थिए । १० वर्षीया बालिकाले घर गएर घटनाबारे बताएपछि मितेरी फाउन्डेसन, स्थानीयबासी र प्रहरीको टोलीले दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा बलात्कृत किशोरीलाई फेला पारेको थियो ।
पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनःस्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी पक्रेर हदैसम्मको कानुनी सजाय गर्न मितेरी फाउन्डेसनले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्