बझाङ , १५, फागुन । जिल्लामा परेको हिमपातका कारण विद्युत सेवासमेत अवरुद्ध भएको हो । बझाङ जिल्लामा विद्युत आपूर्ति गर्ने राष्ट्रिय प्रसारण लाइन आइतबार अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुर अन्धकार बनेको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालीत ७ ओटा रेडियोपनी बन्द हुनुका साथै विद्युतबाट सञ्चालन हुने सबै कामहरु अवरुद्ध भएका हुन् । विद्युत प्राधिकरणका बझाङका वितरण केन्द्र प्रमुख राकेशप्रसाद भट्टले सोमबार दिउँसो देखि परेको पानी र हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । पुस महिनादेखि बझाङमा अहिलेसम्म चार पटक हिमपात भइसकेको छ ।
भारी वर्षा र हिमपात भएका बेला बझाङमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । कहिले पोल ढल्ने, कहिले चट्याङ परेर बिजुलीका पोलमा राखिएको इन्सुलेटर पड्किने समस्याका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । बैतडीको खोड्पेबाट बझाङका लागि ३३ केभीको लाइन ल्याइएको छ । विद्युत बन्द भएको क्षेत्रमा मर्मतका लागि प्राविधिकको टोली खटिएको र केही समयपछि विद्युत सञ्चालनमा आउन सक्ने भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्