ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घोषणामै सीमित भयो ‘शहीद पार्क’


admin
१० चैत्र २०७५, आइतबार   ४ : १७   बजे

भद्रपुर, १० चैत । झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनआन्दोलनका बेला नाम फेरेर ‘शहीद पार्क’ घोषणा गरिएको १२ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ नामकरण सार्थक बन्न सकेको छैन । 

भद्रपुर नगरपालिका वडा नं ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई कठ्ठा दश धुर जग्गामा फैलिएको महेन्द्र पार्क विसं २०४६ साल अघिसम्म झापाकै सबैभन्दा पर्यटक ओइरिने पार्कको रुपमा चिनिन्थ्यो ।

तर, २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई बन्द गरियो । प्रवेशद्वारमा लगाइएको ताला वर्षौंसम्म खुलेन । रङ्रोगन उड्यो । कलाकृतिहरुको स्याहार भएन । बगैंचा मालीविहीन भयो । 

खुलाउने कि नखुलाउने द्विविधाकै बीचमा २०६२ सालको दोस्रो जनआन्दोलनमा पार्क भौतिक रुपमै राजनीतिक द्वन्द्वको निशाना बन्यो । आन्दोलनकारीहरुले पार्कको मध्यभागमा ठडिएको राजा महेन्द्रको मूर्ति तोडफोड गरे । मूर्ति मात्र होइन, त्यहाँ राखिएका सबै शिलालेख भत्काइए । 

विसं २०४६ मा पञ्चायतको अन्त्य भएपछि यो पार्कलाई शहीद पार्क बनाउनु पर्ने आवाज उठेको थियो । त्यसबेला झापाका शहीद राम थापाको शालिक राखेर शहीद पार्क बनाइने चर्चा चलेको थियो तर, नामकरण गर्नेतर्फ कसैले कदम चालेन भने पार्कको ताला समेत कसैले खोलेन । 

विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा झापाबाट सुरज विश्वास र राजन गिरीले शहादत प्राप्त गर्नुभयो । उहाँहरुकै शालिक राखेर शहीद पार्क नामकरण गरिनु पर्ने फेरि आवाज उठ्यो । विसं २०६३ मा संयुक्त जनआन्दोलन समिति झापाले शहीद पार्क नामकरण गरी विश्वास र गिरीको शालिक राख्ने निर्णय गरेको तत्कालीन जनआन्दोलन संयोजन समितिका सदस्य एवं संविधानसभा सदस्य रविन कोइराला बताउनुहुन्छ । तर, १२ वर्ष बितिसक्दा पनि पार्कले नयाँ नाम पाएको छैन । पार्कको प्रवेशद्वारमा कुनै नाम लेखिएको छैन । राजा महेन्द्रको मूर्ति र शिलालेखका सबै अक्षर नष्ट गरिएकाले अब यो ‘महेन्द्र पार्क’ जस्तो पनि रहेन । शहीदको स्मरण गराउने कुनै निशानी पनि राखिएको छैन । 

विसं २०२८ सालमा महेन्द्र पार्कको निर्माण भएको थियो । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा पार्क निर्माण गरिएको थियो । पार्कको बीचमा करीव ३० फिट अग्लो कलात्मक स्मारक बनाएर सबैभन्दामाथि पूर्ण कदको राजा महेन्द्रको मूर्ति राखिएको थियो । 

दक्षिणतर्फ विभिन्न कलाकृति कुँदेर मूल प्रवेशद्वार बनाइएको थियो । मूलढोकाको सिरानीमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने सन्देश बोकेका राजा महेन्द्रकै वाणी ठूला अक्षरमा कुँदिएको अहिले पनि देख्न सकिन्छ । चारै दिशामा ढोका भएको पार्कको उत्तरतर्फ सानो भवन छ जसलाई भण्डार कोठाको रुपमा प्रयोग गरिँदै आइएको छ । पूर्वतर्फ जिल्ला प्रहरी कार्यालय पर्ने भएकाले त्यहाँबाट सर्वसाधारणले आउजाउ गर्न पाउँदैनन् । 

पार्कको मुख्य स्तम्भमा रहेको राजा महेन्द्रको शालिक भत्काइएपछि अहिले भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषको फेदीमा सिंह, हात्ती, घोडा, माछा, मयूरको कलात्मक मूर्ति कुँदिएका छन् । पार्कमा ५० भन्दा बढी प्रजातिका फूल ढकमक्क फुलेका छन् जसमा दुर्लभ मानिने क्यामेलिया र डल्ले सल्लोको बोन्साई पनि रहेको छ । अनेकौं रङ्गीबिरङ्गी फूलका कारण पार्कले पर्यटकलाई मोहित बनाउने गर्दछ । 

बीच भागको स्तम्भलाई जोड्ने गरी चारैतिर पानीको फोहोरा निस्कने पक्की नालीको पूर्वाधार समेत पार्कभित्र रहेको छ तर, यहाँ २०४६ सालयता पानीको फोहोरा सञ्चालनमा ल्याइएको छैन । 
पार्कको स्वामित्व बोकेको भद्रपुर नगरपालिकाले नयाँ नामकरण र जीर्णोद्धार गर्ने विषयमा नयाँ सोच बनाइरहेको छ । भद्रपुर नगरका प्रमुख जीवनकुमार श्रेष्ठले झापाकै सबैभन्दा पुरानो पार्क भएको हुँदा यसलाई नयाँ ढङ्गले जीर्णोद्धार गरी सञ्चालनमा ल्याउन योजना अघि सारिएको बताउनुभयो । फूलको बगैंचा हुर्काउन, हेरचाह गर्न र बाल उद्यानको रुपमा विकास गर्न नगरपालिकाले डेढ वर्षमा रु १० लाख बजेट खर्च गरेको श्रेष्ठले जानकारी दिनुभयो । 

पार्कमा बालबालिकाले खेल्ने चार वटा चिप्लेटी, पाँच वटा पिङ, चार वटा चाकाचुली, आठ वटा फलैँचा र दुई वटा पानीबाट ओतिने पक्की टहरा नगरपालिकाले निर्माण गरेको छ । नगरपालिकाले अमृत थापा र मोहनप्रसाद तिवारीलाई मासिक पारिश्रमिक दिएर पार्कको हेरचाहमा खटाएको छ । नयाँ माली खटिए पछि फूलबारी र सरसफाइको अवस्था सुध्रिएको छ । 
पाँच वर्ष मलेशियामा फूलबारी हेरचाहको काम गर्नुभएका थापा नगरपालिकाले पर्याप्त स्रोत र साधन उपलब्ध गराए पार्कलाई आकर्षक बनाउन समय नलाग्ने बताउनुहुन्छ । दैनिक औसत डेढ सय अवलोकनकर्ता पार्क घुम्न आउने गरेको र शनिवार यो सङ्ख्या बढेर एक हजार नाघ्ने गरेको थापा बताउनुहुन्छ । 

हरेक बिहान ६ः३० बजे खुल्ने यो पार्क १०ः०० बजे बन्द हुन्छ र दिउँसो २ बजे फेरि खुलेर साँझ ७ः३० बजे मात्र बन्द हुने गरेको छ । बिहान र साँझ धेरै मानिस घुम्न आउने गरेको उहाँ बताउनुहुन्छ । 

विसं २०६२ मा गठित संयुक्त जनआन्दोलन संयोजन समिति झापाका सदस्य एवं तत्कालीन नेकपा एमालेका अध्यक्ष कोइरालाका अनुसार पार्कको नयाँ नाम ‘शहिद पार्क’ राख्ने निर्णयको अब कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ । 

“त्यसबेला बैठकमा माइन्युट समेत भएको थियो,” कोइराला भन्नुहुन्छ – “समितिमा धेरै दलका प्रतिनिधि थिएं । पछि सबै आ–आफ्नो दलको काममा अल्मलिँदा पार्कको विषय ओझेलमा प¥यो ।” 

कोइरालाले महेन्द्र पार्कलाई शहीद पार्क बनाउन र राजाको भत्काइएको शालिकलाई प्रतिस्थापन गरी शहीदको शालिक राख्नुपर्ने सुझाव दिनुभएको छ । संयुक्त जनआन्दोलन संयोजन समितिका संयोजक एवं तत्कालीन नेपाली काङ्ग्रेसका जिल्ला सभापति सुधिर शिवाकोटी पार्कमा व्यक्तिको नामकरण गर्नुभन्दा ज्येष्ठ नागरिक र बालबालिका रम्ने पार्कको रुपमा यसलाई विकास गरिनु पर्ने धारणा व्यक्त गर्नुहुन्छ । समितिको निर्णयका कारण नभई त्यसबेला माओवादीहरुले तोडफोड गरेको उहाँको भनाइ थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित झापा क्षेत्र न. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन महेन्द्र पार्क राष्ट्रिय धरोहर भएको र त्यसको स्वामित्व भद्रपुर नगरपालिकासँग भएको हुँदा उसैले संरक्षणको जिम्मा लिनुपर्ने बताउनुहुन्छ । 

“नगरपालिकाले के गरौं भनेर कहिले सोधेको छैन,” सांसद् लिङ्देन भन्नुहुन्छ – “व्यवस्थापन गर्न सक्दैनौं भनेर नगरपालिकाले भनोस् । हामी केन्द्रबाट बजेट जुटाएर संरक्षण गराउँछौं ।” 

भद्रपुर क्षेत्रबाटै १ नं प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचित ओम सरावगीले पनि पार्कमा जनआन्दोलनका शहीद सुरज विश्वास र राजन गिरीको शालिक राख्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले सबैको भावनालाई समेटेर नगरपालिकाले छिट्टै शहीद पार्कलाई औपचारिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार त्यसका लागि कानूनी आधारहरु तयार गर्ने काम भइरहेको छ । “पार्क सञ्चालन कार्यविधि बनाइरहेका छौं,” उपप्रमुख श्रेष्ठले भन्नुभयो – “पार्कमा जनताले फ्याँकिसकेको पुरानै राजाको मूर्ति राख्न अब उचित हुँदैन । नगरपालिकाले परिवर्तनको अनुभूति हुने गरी पार्कलाई संरक्षण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group