बाजुरा, २२ असोज । दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ ।
भारत जान घरबाट निस्कनु भएका जैशीले आठ दिनसम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गर्नुभयो । यसैबीच अचानक उहाँमा स्वरोजगार बन्नका लागि मूर्ति बनाउने सोच आएकाले यसैतर्फ होम्मिनुभयोे ।
भारतको यात्रा थाति राख्दै मूर्ति बनाउन थालेको १० महिना बित्यो, मूर्ति बनाए पनि बजार नपाएकाले सोचे जस्तो आम्दानी नभएको मूर्तिकार जैशीले बताउनुभयो ।
अहिले सोचेभन्दा कम आम्दानी भएको छ मूर्ति बेचेर छजनाको परिवार पाल्नुपर्ने बाध्यता जैशीमा छ तर बजार अभावले मूर्ति बनाउने पेशा संकटमा पर्ने हो की भन्ने चिन्ता उहाँमा छ ।
जैशीले भन्नुभयो, “मूर्ति बनाउने आवश्यक उपकरण नहुँदा काममा ढिलाइ हुन्छ तर त्यस्ता उपकरण पाए दैनिक २० वटाभन्दा बढी मूर्ति बनाउन सक्छु । ”
मूर्तिकला केन्द्र बनाइ यसलाई स्तरोन्नति गर्दै उद्योग बनाउने सोच उहाँको छ । दश महिनाभित्र रु तीन लाखभन्दा बढीको कारोबार गर्नु भएका मूर्तिकार जैशीका प्रतिमूर्ति रु २५ हजारदेखि रु ६० हजारसम्ममा बिक्री हुने गरेपनि समयमै मूर्ति विक्री नहुँदा खर्च बढेको उहाँको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्