धनगढी , २२ वैशाख । सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ ।
विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो ।
एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये आठ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ । यस्तै पार्किङ क्षेत्रमा दुई वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा एकसाथ चार वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार गर्न लागिएको बताइएको छ ।
आगामी जेठ महीनाको २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा शुचारु हुने बताइएको छ । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो विमानस्थाल धनगढी विमानस्थल हो । झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र निर्माण एवं स्तरोन्नति गर्नका लागि विभिन्न तीन वटा निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको बताइएको छ ।
धनगढी विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ धनगढीसम्मको हवाई सेवा उपलब्ध गराइरहेकामा निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौँ धनगढीका लागि दैनिक चार उडान भर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्