पथरी (मोरङ), ३० असोज । मोरङको सुनबर्सी नगरपालिकाको झुङ्गी टोल चोक नजिकै अपांगता भएका एक व्यक्ति परिवार पाल्न संघर्ष गरिरहनुभएको छ ।
दुईटै खुट्टा पोलियोका कारण नचल्ने भएका मानिक चन्दन ऋषिदेव सातजनाको परिवार पाल्न संघर्ष गरिरहनुभएको हो । पाँच वर्षको हुँदा सामान्य खुट्टा दुखेको समस्याबाट पीडित भएको ऋषिदेवले स्मरण गर्नुभयो । आर्थिक अवस्था निकै कमजोर भएका कारण समयमै उपचार गर्न नसकेकाले अहिलेसम्म दुःख भोग्नुपरेको ऋषिदेवले बताउनुभयो ।
चार दशक अगाडि पोलियोका कारण दुईटै खुट्टा नचल्ने भएको भन्दै ऋषिदेवले आमा पोसियादेवी ऋषिदेव, बुबा धनाई ऋषिदेव, श्रीमती ललिता ऋषिदेव र दुई छोरी, एक छोरालाई पाल्न संघर्ष गर्नुपरेको बताउनुभयो ।
पाँचवर्ष अगाडि साइकल मर्मत सेन्टर खोलेर परिवार पालिरहनुभएका ऋषिदेवलाई साइकल मर्मत सेन्टर खोल्न लुथरन सामुदायिक कल्याण समाजले रु चार हजार सहयोग गरेको थियो ।
वार्षिक रु पाँच हजार भाडामा लिएर दश धुर जग्गामा घर बनाएर उहाँले आफ्नो परिवारको टाउको ओताइरहनुभएको छ । साइकल मर्मतबाट रु ३०० देखि रु ४०० सम्म कमाइ हुने भन्दै ऋषिदेवले एकजनाको कमाइले सातजनाको परिवार पाल्न मुस्किल भइरहेको दुःखेसो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्