काठमाडौं,८ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो ।
बुधबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय लिएर बोल्दै उहाँले सो विधेयक सरकारले तत्काल फिर्ता नलिए आफ्नो पार्टीले अघि बढाउन नदिने चेतावनी पनि दिनु भयो । सचेतक भुसालले सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको तर्क पनि गर्नु भयो ।
‘मुलुकको लोकतन्त्रले नचिन्ने, हामीले नबुझ्ने सो विधेयक तत्काल फिर्ता लिन हामी सरकारसँग जोडदार माग गर्दछौं,’सचेतक भुसालको भनाई थियो,‘सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढाउन नसक्ने जानकारी गराउँछु ।’
सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने पनि स्पष्ट पार्नु भयो । सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको सचेतक भुसालको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्