काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाउनु भएको छ ।
सांसद भट्टराईले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर काँग्रेसले संसदीय व्यवस्था माथिनै धावा बोलेको दावी समेत गर्नु भयो । काँग्रेसले प्रधानमन्त्रीले बोल्नु अघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनुपर्छ भनेर संसदमा अनैतिक कुरा गरेको सांसद भट्टराईको दावी छ । उहाँले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको प्रतिक्रिया पनि दिनु भयो ।
संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिशन स्पष्ट पार्न रोष्टममा पुग्नु भएका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर काँग्रेसले निन्दनीय काम गरेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।
सांसद भट्टराईले प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्ष दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि काँग्रेसले नमान्नु अत्यन्तै अनैतिक कुरा भएको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्