काठमाडौं, ५ असार ।सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत सरकारले लालपूर्जा नदिएको जानकारी दिनु भएको हो । बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उहाँले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जा समेत सरकारले नदिएको बताउनु भयो ।
लालपूर्जाका लागि नापी विभागमा निवेदन दिएपनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको उहाँको भनाई थियो । सदस्य सचिव ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दावी गर्नु भयो । लालपूर्जा नभएपनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाई छ ।
कोषले प्राविधिक जनशक्तिको अभावमा पशुपति क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति नलिएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्