काठमाडौं, २२ असार । राउटे यतिबेला खाडल खन्ने र विरुवा लगाउन तल्लीन छन् । जंगल मास्दै आएको राउटे समुदाय वृक्षारोपणमा संलग्न भएको यो पहिलो पटक हो । सुर्खेतसंग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका ५ ठाँटीमा बस्दै आएका मध्ये ५२ जना राउटे सोही ठाउँमा वृक्षारोपणको काममा सम्लग्न छन् ।
सुर्खेतसंग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका ५ को ठाँटीमा टिम्मुरका बेर्ना लगाउँदै राउटे समुदाय ।
उनीहरुलाई गुराँस गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विरुवा लगाउने कामको जिम्मा दिइएको हो । नौ दिनसम्म राउटेलाई काममा लगाएवापत गाउँपालिकाले प्रतिदिन प्रति व्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलव्ध गराउनेछ ।
शनिवार उनीहरुले ठाँटीमा करिव ५०० टिम्मुरका विरुवाहरु रोपेका छन् । गाउँपालिकाका रोजगार संयोजक मोहन पौडेलले यही असार १९ गतेदेखि २७ गतेसम्म उनीहरुलाई विरुवा रोप्न र खाडल खन्ने काममा लगाइने जानकारी दिनुभयो ।
राउटे युवा शिवराज शाहीले राउटेले रुख काट्न मात्र होइन विरुवा रोप्न पनि जानेको जनाउनुभयो । उहाँले अव विरुवा लगाएर बन जोगाउन लाग्ने प्रतिवद्धता पनि जनाउनुभयो । गाउँपालिकासंग राउटेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि समन्वय गर्ने दैलेखको सामाजिक सेवा केन्द्रले नौ दिनसम्म काम गरेवापत दुई लाख ४१ हजार रुपियाँ राउटेले पाउने जनाएको छ ।
संस्थाका अध्यक्ष हिरासिंह थापाले राउटेहरुको कूल पूजा नजिक आइरहेकोले उनीहरुले विरुवा लगाउने काम धमाधम गरिरहेको बताउनुभयो । उहाँले आफूहरु बस्ने ठाँटीको खाली भूभागमा विरुवा रोपेकोले काठ काट्ने राउटेहरु पनि विरुवा रोप्न लागेकोमा खुशी प्रकट गर्नुभयो । राउटेहरुलाई टिम्मुरमात्र नभइ अन्य बनस्पतिका विरुवाहरु यो बर्षा याममा रोप्न लगाउने बताउनुभयो ।
राउटेहरुले साउन १ गते आफूहरुको कूलपूजा भएकोले त्यस अगाडि नै काम गरेको पैसा उपलव्ध गराइदिन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्