काठमाडौं, २३ असार । संसदीय सुनुवाई समितिमा विभिन्न देशका लागि प्रस्तावित चार जना राजदुतको सुनुवाईको काम अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
संसदीय सुनुवाई विशेष समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्रको सुनुवाई गरिएपछि बैठक अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको हो । अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने उहाँको योजना छ ।
गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदुत सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्