भोजपुर, २५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पहिलो पटक सुरक्षाकर्मी माथि आक्रमण गरेको छ ।
आज विहान भोजपुर जिल्लामा एक प्रहरीलाई गोली हानेर मारेको छ ।
प्रहरीको जवाफी कारबाहीमा उसका एक नेता निरकुमार राई समेत मारिएका छन् । प्रहरीका जवान सन्दिप राई ‘घुमुवा प्रहरी ’ थिए । उनी गस्ती टोली भन्दा केहीं अघि थिए । बुधबार विहान करिब साढे आठ बजेतिर प्रहरी नियमित गस्तीका लागि भोजपुर बजार नजिकैको हटिया भन्ने क्षेत्रमा गएको थियो ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पनि हटिया क्षेत्रमै थिए । उक्त समूहको नेतृत्व सोलुखुम्बु स्थायी घर भएका तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा काम गरेका निरकुमार राईले गरेका थिए ।
स्थानीयका अनुसार निरकुमार राईले बुधबार विहान प्रहरी गस्तीको अघिअघि रहेका सन्दिप राईलाई समाते र कञ्चटमा गोली हाने । सन्दिप राई त्यहीं ढले र उनको केहीं समयपछि मृत्यु भयो ।
आफ्ना जवानमाथि गोली हानेर हत्या गरिएपछि गस्तीमा रहेको प्रहरी टोलीले निरकुमार राईतिर फायर खोल्यो । प्रहरीले चलाएको गोली लागेर निरकुमार राई पनि मारिए । प्रहरीले भने औपचारिक रुपमा घटनाको विवरण सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्