भोजपुर, २५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा प्रहरी भिडन्तमा परी २ जनाको ज्यान गएको पुष्टि गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक खनालले आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा चन्द समूहको गोली प्रहारबाट प्रहरी जवान संजीव राई र जवाफी फायरका क्रममा सो समूहका ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राईको मृत्यु भएको जानकारी दिनु भएको हो । गस्तीमा गएका प्रहरीमाथि सो समूहले गोली चलाएको र छातीमा गोली लागेका प्रहरी जवान संजीवको मृत्यु भएको उहाँको भनाई थियो । घटनामा परी घाईते भएका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रहरी महानिरीक्षक खनालले मृत सो समूहका ओखलढुंगा इन्चार्ज नीरको साथबाट एक थान चाईनिज पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरिएको बताउनु भयो । घटनामा परी घाईते भएका अर्का प्रहरी जवान सोमनाथ भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । उनको कुईनामा गोली लागेको पनि प्रहरी महानिरीक्षक खनालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्