काठमाडौँ, २५ असार । सदरमुकाम महेन्द्रनगरमा आज नेपाल– भारत गौरा महोत्सव मनाइएको छ । महाकाली साहित्य सङ्गमको आयोजनामा मनाइएको महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक संस्कृति, छलिया, हुड्केलीलगायतका नृत्य प्रस्तुत गरिएका छन् ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नुभएको गौरा महोत्सवमा सुदूरपश्चिम प्रदेशबाट लोप हुने अवस्थामा पुगेका मौलिक संस्कृतिको संरक्षण गर्न के गर्न सकिन्छ रु भन्ने विषयमा गहन छलफल गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डा मुकुन्द कलौनीले थारु संस्कृतिका विषयमा, डा हरिशचन्द्र भट्टले सौका समुदायको संस्कृतिका विषयमा र भारतका प्राध्यापक तथा साहित्यकार डा राजशेखर सक्सेनाले तराईका राना समुदायको संस्कृतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयका सह–प्राध्यापक खगेन्द्र जोशीले सीमा क्षेत्रका संस्कृतिमा पाइने समानता, महाकाली साहित्य सङ्गमका उपाध्यक्ष राजेन्द्रसिंह रावलले कात्युरी राज्यको इतिहास र ज्योतिष तथा साहित्यकार लक्ष्मीकान्त जोशीले गौरा पर्वका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि आफ्ना धारण राख्दै सुप विश्वविद्यालयका पूर्व डिन डा टेकराज पन्तले कुमाउ र सुदूरपश्चिम क्षेत्रमा साझा संस्कृति तथा साझा देवीदेवता रहेका बताउनुभयो ।
उद्घाटन सत्र, कार्यपत्र सत्र र कविता वाचन सत्र गरी तीन चरणमा कार्यक्रम सप्पन्न गरिएको थियो । कविता वाचन कार्यक्रममा भारतका कवि विपीन जोशी, डा सक्सेना, रामरतन यादव तथा नेपालका कवि अम्बादत्त जोशी, वासुदेव पाण्डेय, कविराज भट्ट बिलौना, कृष्णदत्त चटौत कान्त, रमेश पन्त मितबन्धु, लक्ष्मीप्रसाद भट्ट बैरागी, रामचन्द्र नेपाल र जगदीश ओझाले यहाँका संस्कृतिका विविध पक्ष केलाउँदै कविता वाचन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्