बुटवल, २८ असार । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु चोरेर फरार भएकी महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएको छ ।
चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेतजस्तै थिइन् ।
तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्