काठमाडौं, ३ साउन । काठमाडौंको चन्द्रागिरीमा रहेको चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन नगरी रिसोर्ट संचालन गरेको भन्दै वन मन्त्रालयले कार्वाही गरेको छ । चन्द्रगिरी हिल्स प्रालिलाई मन्त्रालयले २० लाख रुपैयां जरिवाना गराएको हो ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएभन्दा फरक भौतिक संरचना निमार्ण गरेको भन्दै वन मन्त्रालयले २० लाख रुपैयां जरिवाना गरेको छ । वातावरण विभागको अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को बमोजिम कारवाही गरेको हो ।
चन्द्रागिरी हिल्सले संरचना बनाउदा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ख्याल नगरी लापरवाही गरेको भन्दै मन्त्रालयले कारवाही प्रक्रिया अगाडी बढाएको थियो । कारवाहीपछि चन्द्रागिरी हिल्स लिमिटेडलाई पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न पनि निर्देशन दिएएको छ । पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबुझाएसम्म रिसोर्ट संचालन गर्न नपाउने मन्त्रालयले जनाएको छ ।
निमार्णको अन्तिम चरणमा रहको चन्द्रागिरि हिल्स रिसार्टले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरण मैत्री र कटेज नभई पहुंच र चलखेल गरी कंक्रिटका भब्य संरचना निमार्ण गरिरहेको आरोप लागेको छ । चन्द्रागिरि हिल्सले ४० वटा कटेज बनाउने स्वीकृत पाएपनि अहिले वातावरण प्रतिकुल असर गर्नेगरी कंक्रिटयुक्त भवन बनाएकोमा वन मन्त्रालयको आपत्ति रहेको बुझ्न सकिन्छ । सरकारी जग्गा प्रयोगको नियम उल्लंघन गर्दै आफुखुशी काम गरेपछि मन्त्रालयले कारवाहीको सिफासिस गरेको हो ।
यसअघि पनि चन्द्रागिरि हिल्सले पटक पटक नियम उल्लंघन गरेको आरोप लागेको थियो । यस विषयमा चन्द्रागिरी हिल्ससम्बद्ध अधिकारीहरुसंग प्रतिक्रिया लिन पटकपटक प्रयास गरेपनि क्यामेरामा बोल्न चाहेनन् । चन्द्रागिरी हिल्सले काठमाडौंको थानकोटबाट चन्द्रगिरीको भालेश्वर डांडासम्म केवलकार, वाल उद्यान, रिसोर्ट संचालन गरिरहेको छ । यो भौतिक संरचनासंगै चन्द्रागिरी अहिले काठमाडौंकै मुख्य पर्यटकीय गन्तव्य बनेको छ ।
प्रतिक्रिया दिनुहोस्