काठमाडौं,१५ साउन । नक्सालस्थितको नेपाल बाल संगठनको एक सय चार रोपनी जग्गा छ । जसमा ५२ रोपनी ललितकला प्रज्ञा प्रतिष्ठान र बाँकी ५२ रोपनीमा नेपाल बाल संगठन रहेको बालमन्दिरले जनाएको छ । सडक बालबालिका र विपन्न वर्गलाई लालन–पालन र शिक्षा सेवा उपलब्ध गराउने उद्येश्यले स्थापित बालमन्दिरको जमिन भने संरक्षणको अभाव हुदा लापारबाही पनि बढ्दो छ ।
२०२१ सालमा स्थापित नक्सालस्थितको बाल मन्दिरमा अहिले ९३ जना संवेदनशील शिशु र बालबालिकाहरु छन् । जसलाई लालन–पालन, स्याहार सुसार देखि शिक्षा उपलब्ध गराउनेसम्मको काम बाल मन्दिरले गर्दै आएको छ । यसको लागि बाल मन्दिर अन्तर्गत कान सुन्न नसक्नेहरुका लागि बहिरा विद्यालय, शिक्षाको लागि खाद्य कार्यक्रम, आदर्श आधारभूत विद्यालय र अपांग तथा सुस्त मनस्थितीहरुका लागि दिदीदाई नामक विशेष विद्यालयहरु सञ्चालित छ । तत्कालिन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्धारा स्थापित यो बाल मन्दिर भूकम्पपछि थप जीर्ण बनेको छ । बाल मन्दिरमा रहेका शिशु र बालबालिकाहरु असहज र जोखिमपूर्ण वातावरणमा हुर्किरहेका छन् । तर, यहाँको भौतिक पूर्वाधारको पुननिर्माण बारे भने ध्यान दिईएको छैन ।
बाल मन्दिरको १३ रोपनी १२ आना र १ पैसा जग्गा प्रक्रिया मिचेर निजी स्कूल बृहस्पति शिक्षा सदनलाई ५१ वर्षका लागि भाडामा दिईएको छ । त्यसैगरि ललितपुरमा पनि बाल मन्दिरकै ५ रोपनी जग्गामा प्रेरा निर्माण सेवा प्रालि र टेकुमा १ रोपनीमा हरिनारायण तथा कनक ट्रेड पेट्रोल पम्प भाडामा छ । बाल मन्दिरको जग्गा भाडामा दिनु त्रुटि भएको भन्दै जग्गा छानबिनका लागि संसदिय समितीले निर्देशन नै दिईसकेको छ । तर पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसको छानबिन गर्न सकेको छैन । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल भने, आम्दानीका लागि जग्गा भाडामा दिईएको बताउंछन् ।
जग्गा भाडामा नदिएको भए, ललितकला प्रज्ञा प्रतिष्ठानको झैं बगैंचा मात्रै र अरु केही नहुने भन्दै उनले जग्गा भाडामा दिनु सकारात्मक भएको जिकिर गर्छन् । वि.सं. २०५९ भदौ ११ गते बृहस्पति विद्या सदनलाई मासिक ५० हजार र वार्षिक ५ लाखका दरले ३० वर्षका लागि भएको सम्झौता २०७२ जेठ २१ मा ५१ वर्षका लागि थप पूरक सम्झौता भएको छ । २०६६ मा तरुण निर्माण सेवा समितीलाई प्रति स्क्वायर ५ रुपैंया ८५ पैसा अर्थात् प्रतिमहिना ४ लाख ४० हजार ९ सय ७६ रुपैंयामा सम्झौता भको थियो । बृहस्पति विद्या सदनले अरुलाई पनि जग्गा भाडामा दिने अधिकारसहित बाल मन्दिरले सम्झौता गरेको छ । जुन, काम त्यसै पनि कानुन विपरीत छ । त्यसअनुरुप बृहस्पतिले पनि विभिन्न समयमा विभिन्न संगठनहरुसँग जग्गा भाडामा दिने सम्झौता गरेको छ । सरकारी जग्गा वा सम्पत्ति लिजमा लिएर सबलिजमा दिनु कानुन विपरीत हुने सर्वोच्च अदालतले नै प्रष्ट पारिसकेको छ ।
यसर्थ, पवित्र उद्देश्यका साथ स्थापित बाल मन्दिरको जग्गामा अहिले व्यापारिक र व्यवसायिक प्रायेजनका निम्ति प्रयोग बढ्दो छ । सरकारी जग्गा निजी प्रायोजनका लागि दिनु कानुन विपरीत त छंदै छ, आफ्नै भौतिक पूर्वाधारलाई व्यवस्थित र विकसित बनाउन पनि बाल मन्दिर चुकेको छ । व्यवस्थित पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा बाल मन्दिरमै हुर्किरहेका बालबालिकाहरु समेत एउटै आँगनमा अवस्थित आदर्श आधारभूत विद्यालयमा पढ्दैनन् । बाल मन्दिरको अवस्था बुझ्न टाढा जानै पर्दैन । एउटै घरभित्र रहेको शिक्षालयहरु बृहस्पति र आदर्शबीच विभेदित रुपमा दुई वर्गलाई जानाजान छुट्याईएको अनुभति त्यहाँ सजिलै गर्न सकिन्छ ।
५२ वर्ष अघि स्थापित आदर्श आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर विकासमा बाल मन्दिरको ध्यान नपुगेको देखिन्छ । त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि करोडौंको दुरुपयोग भएको भन्दै प्रतिवेदनहरु समेत तयार पारेको छ । तर यी संगठनहरुको कार्यविधि र दायरा छुट्टै–छुट्टै मन्त्रालय अन्तर्गत पर्ने हुँदा कानुनी झमेला पनि छ । कर्तव्य, जिम्मेवार र कानुनी आधारको सही निक्र्यौल हुन नसक्दा विकसित काठमाडौं महानगरभित्रै पनि यस्ता जटिल समस्याहरु हल हुन सकेका छैनन् । भूकम्प पछिको आदर्श विद्यालयमा पानी जम्दा दिउँसै मच्छर धूप बालेर कक्षा सञ्चालन हुन्थ्यो । त्यस्तो बेलामा समेत सम्बन्धित निकायहरुको समन्वय र सहकार्य भड्किनै रह्यो ।
त्यसो त, अहिलेसम्म पनि देशैभरको सरकारी, सार्वजनिक र निजी जग्गाको व्यवस्थित विवरण एवम् सूचनाहरु नरहेको पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले जनाउदै आएको छ । संरक्षण र नियमनको अभावमा यसो हुदै गएको आम बुझाई छ । तसर्थ, उद्देश्य र कानुन विपरीत सरकारी जग्गामा स्थापित निजी संस्थाहरुको नियमन, अनुगमन र नियन्त्रण मा अझै पनि ढिला गरे भविष्यमा यो समयाले ठूलो रुप लिने सम्भावना देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्