काठमाडौं, ९ भदौ । जलवायु परिवर्तनले कृषि, जलस्रोत, वन वातावरण ,जैविक विविधता, क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । जलवायु परिवर्तनबाट परेको प्रभाव न्यूनीकरण गर्न तथा अनुकुलका कार्यक्रम संचालन पनि हुदै आएका छन् । तर जलवायु परिवर्तनको समस्या अन्तराष्ट्रिय समस्या भएकोले यसले विश्वको आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय पक्षमा सिधा प्रभाव पारेको छ ।
विश्वमा जलवायु परिवर्तन दिनप्रतिदिन बढिरहेको छ । यसले मानव जीवन र पर्यावरणलाई नै निकै असर पुराइरहेको छ । प्राणी जगत यसको सिधा मारमा परेको छ । हरितगृह ग्यांस उत्सर्जनका कारण पृथ्वी तात्दै गइरेको छ । पृथ्वीको ताप बढ्दै जादा प्राकृतिक प्रकोप, हिमाल पग्लिदै जानु, हिमताल फूट्नु अनावृष्टि अतिवृष्टीका समस्याले विश्व जगत आक्रान्त छ । जलवायु परिवर्तनका कारण जलचर तथा थलचर प्राणीहरुको अस्तित्व लोप हुँदै गएका छन् ।
विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले वर्षेनी झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधारलगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ । विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्याँस (ग्रिन हाउस ग्याँस)का कारण तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो ।
नेपालले प्रतिवर्ष ०.१ प्रतिशत मात्र ग्रिन हाउस ग्याँस उत्सर्जन गर्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागले मुलुकभरका मौसम मापन केन्द्रको झन्डै ४० वर्षको तथ्यांक विश्लेषण गर्दै तापक्रम वृद्धिदर पहिलेभन्दा बढेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो तथ्य विश्वको औसत बढ्दो तापक्रमभन्दा बढी भएको विशेषज्ञको विश्लेषण छ । यही गतिमा तापक्रम बढ्ने हो भने सय वर्षमा करिब ५ डिग्रीसम्म तापक्रम पुग्न सक्छ । यसरी वृद्धिदर झनै बढ्ने हो भने मानव जिवनमा यसको गम्भिर असर पर्छ । विकसित देशहरुले औद्योगिकीकरण मार्फत धेरै कार्बन उत्र्सजन गर्छन् । औद्योगिक मुलुकहरले गरेको उत्सर्जनबाट नेपालले नोक्सान धेरै बेहोर्न परेको छ । सरकराले जलवायु परिवर्तनको असर नेपालले धेरै बेहोर्नुपरेको भन्दै यस विषयमा अन्र्तराष्ट्रिय फोरमहरुमा विश्व समुदायलाई झकझाउने बताउदै आएको छ ।
सन् २०१५ को पेरिस सम्झौतामा विश्वका १ सय ९७ देशले जलवायु परिवर्तनको असरलाई ध्यान दिँदै पृथ्वीको तापक्रम २ डिग्री सेन्टिग्रेटभन्दा तल १.५ राख्ने प्रयास गर्न सहमत भएका थिए । तर, संयुक्त राष्ट्रको गत वर्षको प्रतिवेदनले हावापानी परिवर्तन गर्ने हरितगृह ग्याँस उत्सर्जनमा उल्लेख्य रूपमा कमी नल्याई त्यसो हुन नसक्ने बताएको थियो ।
पेरिस सम्झौताको लक्ष्यलाई बेवास्ता गरिए औद्योगिकदेखि कृषि उत्पादनमा पनि नराम्रो असर पार्ने देखिएको छ । नेपालले कार्बन उत्सर्जन अत्यन्तै न्यून छ । तर यसको क्षति धेरै बेहोर्न परिरहेको छ । यसर्थ जलवायु परिवर्तनको सवालमा नेपालले अन्तराष्ट्रिय फोरममा गम्भीररुपले उठाउदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न पहल लिन सक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्