काठमाडौं, ११ भदौ । काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको छ । खोकनाबासी विरोधमा उत्रिएपछि, सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको हो । मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको हो । एसियाली विकास बैंक (एडीबी) को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार सिकाली मन्दिरसँगै १३ रोपनी जमिन मासिने भन्दै खोकनाबासी विरोधमा उत्रिएपछि विकल्पको बहस सुरु भएको थियो ।
जनप्रतिनिधिहरुले बुङ्गमती नजिकै रहेको फर्सिडोललाई प्रस्थान विन्दु बनाउने सहमति पनि गरे । तर नेपाली सेनाले स्थानीयबासीको मागअनुसार सिकाली मन्दिरसँगै कोदेशलाई संरक्षण गरेर नयाँ रेखांकन बनाएको छ । यसअनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।
निर्माणको जिम्मा पाएको नेपाली सेनाका अनुसार डीपीआरअनुसार द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर कायम हुनेछ । यसअघि ७६.२ किमी थियो ।
तर लागत भने बढेको छ । नयाँ डीपीआरअनुसार आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्ने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्