काठमाडौं, १७ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनुभएको छ ।
मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गर्नुभयो । उहाँले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । आजबाट काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै उहाँले कृषि उत्पादनमा बढावा दिने गरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री खनालले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । २ दिनसम्म चल्ने सम्मेलनमा कृषि बीउबीजनको उत्पादन बढाउने गरी विविध विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्