ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मार्टिनेजको ‘माइन्ड गेम’मेसीको जादु कस्तो थियो त ?


एबीसी / संवाददाता
८ पुस २०७९, शुक्रबार   ६ : ५१   बजे

दोहा — लियोनल मेसीलाई डिएगो म्याराडोनाको उत्तराधिकारी भनिन्छ । म्याराडोना मेसीलाई खुबै माया गर्थे । म्याराडोना अर्जेन्टिनाको प्रशिक्षक छँदा मेसीले विश्वकप २०१० खेलेका थिए । विश्वकपमा मेसीको सबैभन्दा खराब प्रदर्शन त्यही बन्यो । म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जितेको थियो । त्यसलाई म्याराडोना एक्लैले जिताएको उपाधिका रूपमा पनि लिइन्छ । त्यसैले म्याराडोनालाई अर्जेन्टिनामा भगवान्कै रूपमा पुज्ने गरिन्छ ।

मेसी करिअर सुरु गरेको १७ वर्षपछि विश्वकप २०२२ च्याम्पियन हुँदै म्याराडोनाको असल उत्तराधिकारी साबित भएका छन् । म्याराडोनाले अर्जेन्टिनालाई विश्वविजेता बनाएको ३६ वर्षपछि उस्तै गरी लगभग एक्लो प्रदर्शनमै मेसीले दक्षिण अमेरिकी च्याम्पियनलाई ६.१७५ किलोग्राम सुनको ३६.८ सेन्टिमिटर अग्लो ट्रफी दिलाएका हुन् । उनको दुई गोल सहयोगमा दोहास्थित लुसेल रंगशालामा आइतबार फ्रान्सविरुद्ध ३–३ को बराबरीपछि टाइब्रेकरमा ४–२ को जित निकाल्दै अर्जेन्टिना तेस्रोपल्ट विश्वकप च्याम्पियन भयो ।

सन् २००५ डेब्यु गरेदेखि नै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका मेसीले प्रतीक्षा गरेको सबैभन्दा ठूलो उपाधि विश्वकप नै थियो । त्यसैले हुन सक्छ, उनले कतारी राजाबाट विशेष पोसाक पहिरिएपछि व्यग्रताका साथ ट्रफीमा नजर लगाउँदै दुई हातले मुसारे । माराकाना (ब्राजिल) मा ८ वर्षअघि फाइनलमा हार्दा भने उनी उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड लिएर विजेतालाई दिइने ट्रफीतर्फ हेर्दा पनि नहेरी मञ्चबाट बाहिरिएका थिए । फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रममा कतारमा आएर पूर्णता दिएपछि उनले भव्य खुसियाली मनाएका छन् । उनले परिवार, साथीभाइ, टिमका सहकर्मीसँग मञ्च, मैदान र गोलपोस्टमा झुन्डिँदै खुसी साटासाट गरे ।

करिअरको अन्तिम विश्वकपमा सहभागी भएको बताएका ३५ वर्षीय मेसी निर्विवाद रूपमै फुटबलका सर्वकालीन महान् खेलाडी हुन् । जम्मा ५ फिट ७ इन्च अग्ला उनको जादुयी प्रदर्शन, गोलका तथ्यांक र जितेका उपाधिले त्यसलाई पुष्टि गर्छन् । यसलाई विश्वकपको उपाधिले पूर्णता दिएको छ । उनले जित्न नसकेको उपाधि विश्वकप मात्रै थियो । उनलाई म्याराडोना र ब्राजिली लिजेन्ड पेलेसँग तुलना गर्न पनि पहिला विश्वकप जित्नुपर्ने तर्क अगाडि सारिन्थ्यो । पाँचौं प्रयासमा विश्वविजेता बनेपछि मेसीले सबै आलोचकको मुख बन्द गरिदिएका छन् । इंग्ल्यान्डबाट खेल्दै विश्वकप १९८६ का सर्वाधिक गोलकर्ता बनेका ग्यारी लिनेकरले भने, ‘मेरो जीवनको सबैभन्दा उत्कृष्ट खेलाडी मेसी नै हुन् । उनको तुलना अरूसँग हुनै सक्दैन । विश्वकप च्याम्पियन पनि भएका छन् । अब उनलाई प्रश्न गर्ने कुनै ठाउँ छैन ।’

मेसी पछ्याउँदै फाइनल हेर्न लुसेल आइपुगेका झापाका अनुशील थापाले भने, ‘मेसी संसारकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको सबैभन्दा ठूलो उपलब्धिमा प्रत्यक्षदर्शी हुन पाउँदा निकै खुसी लागेको छ ।’ फाइनल हेर्न नेपालबाट अरू पनि थुप्रै दर्शक आएका थिए । सेवास्टिन भेरोन, कार्लोस टेभेज, जाभियर मास्केरानो, सर्जियो अगुइरोजस्ता उत्कृष्ट खेलाडीको साथ नभए पनि मेसीको नेतृत्वमा औसत टिम विश्वविजेता बन्यो । यसक्रममा ७ गोल गरेका उनी गोल्डेन बुटको होडमा फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि रहे । तीन असिस्ट पनि गरेका मेसीले उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड दोस्रोपल्ट हात पारे । म्याराडोनापछि प्रतियोगितामा २० भन्दा बढी गोलका अवसर सिर्जना गर्ने पहिलो खेलाडी भएका उनी पाँच संस्करणमा असिस्ट (गोलका लागि फाइनल पास) गर्ने पहिलो हुन् ।

मेसी विश्वकपमा २१ गोल (१३ गोल र ८ असिस्ट) मा संलग्न हुने पहिलो खेलाडी बने । विश्वकपमा सबैभन्दा बढी २६ खेल खेलेको रेकर्ड पनि मेसीकै नाममा भयो । मेसीले करिअरमा एउटै वर्ष (२०२२) सबैभन्दा बढी १८ गोल गरेको पनि यसैपालि हो । यसमा उनले १० खेलमात्रै खेलेका छन् । यसअघि उनले एउटै वर्ष १२ गोल (सन् २०१२) भन्दा बढी गरेका थिएनन् । एउटै संस्करणको सबै तह (समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल) मा गोल गर्ने एक्लो खेलाडी पनि भए । उनले सातमध्ये ४ गोल पेनाल्टीमा गरे । पोल्यान्डविरुद्ध उनको पेनाल्टी गोलकिपर स्कुजनीले रोकेका थिए । खासमा दोस्रो खेलमा मेक्सिकोविरुद्ध उनले गरेको लोभलाग्दो गोल नै प्रतियोगितामा अर्जेन्टिनाको पुनरागमन थियो ।

वर्षका उत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका मेसीले क्लब फुटबलमा के मात्रै जितेका छैनन् ? यूईएफए च्याम्पियन्स लिग चारपल्ट, ला लिगा १० पल्ट, फ्रान्सको लिग वान एकपल्ट, क्लब विश्वकप तीनपल्ट जितेका छन् । राष्ट्रिय टिमबाट पहिलो उपाधिका रूपमा गत वर्ष कोपा अमेरिका जितेका थिए । उनको करिअरको ४२ औं उपाधि हो विश्वकप । सबैभन्दा बढी उपाधि जित्नेमा उनी ब्राजिलका डानी अल्भेस (४३ उपाधि) को नजिक पुगेका छन् ।

सन् १९७८ देखि नियमित रूपमा विश्वकपमा सहभागी अर्जेन्टिनी पत्रकार एजेक्वेल मुरले भने, ‘फुटबल निकै लोकप्रिय थियो र त्यसै बेला हामीले पहिलोपल्ट विश्वकप (१९७८) जितेका थियौं । देशमा निरंकुश शासन रहेका बेला हात पारेको भिन्न उपलब्धि थियो त्यो । तर, सबै सामान्य रह्यो । १९८६ मा विश्वकप जित्दा प्रजातन्त्र आइसकेको थियो । त्यतिबला टिमभन्दा ठूलो नाम म्याराडोना थियो । उपाधि नजितेको भए इंग्ल्यान्डविरुद्ध हातले गरेको गोलको पनि खास चर्चा हुने थिएन । यो (२०२२) सबैभन्दा बढी खुसियाली मनाइएको विश्वकप हो । मेसीप्रतिको माया हो । मेसी फुटबलका प्रतीक हुन् । ३६ वर्षपछि जितेको विश्वकपलाई निकै मन पराइएको छ, सबै शान्त भएका छन् । टिम सबैको प्यारो भएको छ । एउटाका लागि जितेको हो र सबैका लागि जितेको पनि हो ।’

मेसी–रोनाल्डो

अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीभन्दा दुई वर्ष जेठा हुन् पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । यी दुईबीच मैदानमा प्रतिस्पर्धा चर्को छ । खेलाडी आफैंले एकअर्कालाई नराम्रो भनेका छैनन् । तर, को उत्कृष्ट खेलाडी भन्नेमा समर्थकमाझ ठूलै बहस हुन्छ, भर्चुअल रूपमै भए पनि झगडा नै पर्छ । झन्डै १५ वर्षयता फुटबलमा यिनै दुई खेलाडीको खुबै चर्चा छ ।

कसले उत्कृष्ट प्रदर्शन गर्‍यो ? कसले बढी गोल गर्‍यो ? कसले उपाधि जित्यो ? कसले धेरै ट्रफी चुम्यो ? क्लब फुटबलमा त स्पेनको ला लिगा फरक क्लबबाट खेल्थे– रोनाल्डो रियल म्याड्रिड र मेसी बार्सिलोनामा । तर, एकअर्काको टिमबीच भेट नै नहुने प्रतियोगितालाई लिएर पनि मेसी र रोनाल्डोको तुलना गरिन्छ । रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरोपियन च्याम्पियनसिप (सन् २०१६) जित्यो । उनले मैत्रीपूर्ण खेल विस्थापित गर्न ल्याइएको यूईएफए नेसन्स लिग (२०१९) को उपाधि पनि हात पारे । त्यसैले मेसीमाथि प्रश्न उठ्न थालेको थियो– अन्तर्राष्ट्रिय फुटबलमा के गरे त ? उनलाई बार्सिलोनाका लागि मात्रै खेल्ने गरेको भन्दै अर्जेन्टिनाका लागि खेल्नै नचाहेको आरोप पनि लाग्न थाल्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक तहमा मेसी चुकिरहे । ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा उनले उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड जिते पनि फाइनलमा अर्जेन्टिनालाई हराएर जर्मनी च्याम्पियन भयो । मेसीको टिमले कोपा अमेरिका (दक्षिण अमेरिकी च्याम्पियनसिप) मा तीनपल्ट (सन् २००७, २०१५ र २०१६) फाइनल हार्‍यो । कोपा २०१९ मा ब्राजिललाई च्यापेको भन्दै रेफ्रीको आलोचना गरेपछि मेसी तीन महिना प्रतिबन्धमै परे । दोस्रोपल्ट रातो कार्ड पनि बेहोरे । त्यसैले कतै मेसी ठूला खेलका खेलाडी होइनन् कि भन्ने शंका बढ्न थाल्यो । गत वर्ष कोपा अमेरिका जितेपछि मेसी पनि युरो विजेता रोनाल्डोको दाँजोमा उभिए । आलोचना केही मत्थर भयो ।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्व फुटबलको महाकुम्भको २२ औं संस्करणमा उपाधिको बलियो दाबेदार थिएन । ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड र स्पेनलाई नै दाबेदार मानिएको थियो । कथा त्यस्तै रह्यो पनि । पहिलो खेलमै अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ ले हराइदियो । तीन वर्षयता पहिलो हार बेहोरेपछि समूह चरणबाटै घर फर्किने डर बढ्यो । तर, मेसीको टिम त्यही हारबाट माथि उठ्यो । त्यसपछि प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गर्दै मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्सको चुनौती पन्छाएर विश्वविजेता बन्यो । यसले रोनाल्डोमाथि पक्कै पनि दबाब बढाएको छ । ब्रुनो फर्नान्डेज, जाओ फेलिक्स, पेपे, बर्नाडो सिल्भा, रुबेन डायससहितको उत्कृष्ट टिम हुँदाहँॅदै पनि पोर्चुगलको कतार यात्रा क्वाटरफाइनलमै टुंगिएको थियो ।

मेसीले विश्वकपका पाँच संस्करणमध्ये सन् २०१० (दक्षिण अफ्रिका) मा मात्रै गोल गर्न सकेनन् । त्यही टिमका मुख्य प्रशिक्षक थिए म्याराडोना । त्यसको चार वर्षअघि जर्मनीमा विश्वकप खेलेको टिमका डिफेन्डर हुन् लियोनल स्कालोनी । उनी प्रायः बेन्चमै हुन्थे । चार वर्षअघिको विश्वकपमा जोर्गे साम्पाओलीको सहायक रहेका उनी कार्यवाहक हुँदै मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । पहिलोपल्ट टिम सम्हालेका उनले नै मेसी केन्द्रित टिमलाई शक्तिशाली बनाएका हुन् । उनको आगमनपछि नै मेसीले राष्ट्रिय गीत गाउन थालेका हुन् । स्कालोनीले पाब्लो आइमर, रोबर्टो आयला, वाल्टर सामुयलजस्ता चलेका खेलाडीलाई सहायक प्रशिक्षकका रूपमा टिममा भित्र्याए । त्यसैले पनि अर्जेन्टिनी टिम बलियो बन्यो । २८ वर्षपछि कोपा अमेरिका विजेता बन्यो । ३६ वर्षपछि विश्वकप च्याम्पियन भयो । मेसीको करिअरले पनि पूर्णता पायो । उनले च्याम्पियनका रूपमा अझै खेल्न चाहेको बताएका छन् ।

source : BBC

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu