ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पदाधिकारीको सुझाव : ‘भ्रष्टाचारविरुद्धको अभियान र रहस्यमय हत्याकाण्डको छाविन तीव्र पार’


ABC NEWS
२१ श्रावण २०८०, आइतबार   १० : २१   बजे

काठमाडौं २१ साउन । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पदाधिकारीहरू मध्ये तीन उपमहासचिव र ३ सचिवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको धारणा व्यक्त गरेका छन् । उनीहरुले भ्रष्टाचार विरोधी अभियान थप दृढतापूर्वक अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंको प्रज्ञा भवनमा साउन १७ देखि जारी बैठकमा शनिबार धारणा राख्ने पदाधिकारीहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा रोक्न नहुने उनीहरूको सुझाव छ । सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको र आइतबार दिउँसो पुनः बैठक बस्ने केन्द्रीय सदस्य सचिन रोकाले जानकारी दिए ।

उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारविरुद्धको आँट र हिम्मतले शुद्धीकरणको थालनी गरेको बताए । ‘यसपटक सरकारले गरेका कामबारे म खुला दिलले प्रशंसा गर्दछु । यत्रो ठूलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान् थालनी हो,’ उनले भने । सरकारले गरेका कामलाई संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रूपमा राखेको र संसद्को रोस्ट्रमबाट पनि ०४७ यताका सबै नेताको सम्पत्ति छानबिनको प्रस्ताव राखेको उनले स्मरण गरेका छन् ।

पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्नेमा आफ्नो दृढ सहमति रहेको उनले बताए । गलत प्रचार गरेर चरित्रहत्या गर्न खोजिएको उनको गुनासो छ । ‘छानबिन गरौँ कसको सम्पत्ति कति छ रु कसका घर कति छन् रु कसका के–के व्यवसाय छन् रु कसका बैंक ब्यालेन्स कति छ ? म तयार छु । कुनै गल्ती नगर्दानगर्दै पनि प्रश्न उठेपछि छानबिनका लागि मार्गप्रशस्त गर्ने मै हुँ । म चारपटक गरेर ३९ महिना मन्त्री हुँदा गरेका कामकारबाही नीति, योजना र त्यसको परिणाम जनताको बीचमा छन् । के–के उपलब्धि भए भन्ने कुरा लिखित रूपमा पनि उपलब्ध गराउनेछु,’ उनले भने ।

शर्माले समाजवादी हुनुभन्दा पहिले लोकतान्त्रिक संस्कारलाई स्वीकार गर्नुपर्नेमा जोड दिए । उनले पुष्पलालदेखि पुष्पकमलसम्मको उपलब्धिको संश्लेषण जरुरी रहेको पनि औँल्याए । ‘हालसम्म प्राप्त उपलब्धिबारे जनताका बीचमा राम्रोसँग नलिएको मात्र होइन युद्ध, शान्ति, संविधान निर्माण र कार्यान्वयनबारेका ऐतिहासिक उपलब्धिहरूको संश्लेषण नगरेर इतिहासको अवमूल्यन भएको छ । यसलाई सच्याउँदै पुष्पलालदेखि पुष्पकमलसम्मको उपलब्धिको संश्लेषण जरुरी छ,’ उनले भने ।

माओवादी धारालाई अब समाजवादी धारामा रूपान्तरण गरी सोहीअनुसार सैद्धान्तिक मार्गनिर्देशन तयार गर्नुपर्ने उनको सुझाव छ । उनले समाजवादको आधार तयार पार्न वामपन्थी तथा प्रगतिशील जनमतलाई केन्द्रित गरी उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्ने, भौगोलिक र पर्यावरणीय विविधता, जातीय विविधता, सांस्कृतिक विविधता, अपार प्राकृतिक साधन स्रोत, युवा बहुल जनसंख्या, श्रमयोग्य शक्तिको प्रचुरतालाई आधार बनाई आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना, आत्मनिर्भरताका लागि पहल गर्नुपर्ने, सरकार, सदनबाट सुशासन र सामाजिक न्याय लक्षित कार्यक्रममार्फत जनजीविकासँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने र समाजमा विद्यमान विभिन्न विभेद र शोषणका विरुद्ध आमजनताको चेतना वृद्धिसहितको प्रतिरोधका रूपमा सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पार्टी विधानअनुसार चल्नुपर्ने र नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने सुझाव शर्माको छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित क्लस्टरमा निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए । अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्ने शर्माको प्रस्ताव छ । पार्टीलाई पूर्णतः डिजिटल बनाउनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्ने बाटो खोल्नुपर्ने र उत्तराधिकारीहरूको लामबन्दी तयार गर्नुपर्ने उनको प्रस्ताव छ ।

उपमहासचिव वर्षमान पुनले जस्तोसुकै परिस्थिति आए पनि भ्रष्टाचारविरुद्धको अभियान रोक्न नहुने सुझाव दिए । उनले माओवादीभित्रै कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुने बताए । ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष नेतृत्वको सरकारको अभियानमा हाम्रो दह्रो साथ छ,’ पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’

पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान पार्टी निर्माणको मौका भएको भन्दै सदुपयोग गरेर जानुपर्नेमा जोड दिए । सरकारले चालेको भ्रष्टाचारविरुद्धको कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनले बताए । पुनले प्रचण्डको विकल्प कसैले नखोजेकोसमेत स्पष्ट पारे । उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्नेमा भने उनले जोड दिए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।’ पुनले पनि डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव गरेका छन् । वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको भन्दै उनले सरकार प्रमुख मोर्चा भएको बताए ।

अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरोधी अभियानले पार्टीमा आस्था र जनतामा साहस पैदा गरेको बताए । ‘चिनियाँ एउटा भनाइ छ, भ्रष्टाचार र भर्‍याङमाथिबाट बढार्नुपर्छ । प्रधानमन्त्री र उपप्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेर भित्र र बाहिर एउटा सकारात्मक तरंग सिर्जना गर्नुभएको छ । यो वर्गसंघर्ष पनि हो । नयाँ ढंगले वर्गसंघर्षलाई विस्तार गर्न जरुरी छ,’ उनले भने ।

पोखरेलले प्रगतिशील निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिए । उनले भनेका छन्, ‘अहिलेको निर्वाचन प्रणालीले राजनीतिकर्मीलाई भ्रष्ट र विकृत पारेकोतर्फ ध्यान दिँदै प्रगतिशील निर्वाचन प्रणाली खोज्नेबारे बहस प्रारम्भ गर्नुपर्छ ।’ उनले पुँजीवादी पार्टीले समाजवादी क्रान्ति गर्न नसक्ने उनको भनाइ छ । वैज्ञानिक समाजवाद, २१औँ शताब्दीको समाजवाद, नेपाली विशेषताको समाजवादको विषयमा विशेष महाधिवेशनबाट मूर्तरूप दिनुपर्ने बताए ।

सचिव दीनानाथ शर्माले भ्रष्टाचार विरोधी अभियान चलएको प्रचण्ड नेतृत्वको सरकारले विगतमा नसुल्झेका दरबार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्डको पनि छानबिन गर्नुपर्ने सुझाव दिएका छन्  । पार्टी निर्माण प्रक्रिया निरन्तरको प्रयास भएकोले गुटवन्दी र पुरातन मानसिकताबाट माथि उठेर नयाँ कार्यदिशा तय गर्नु पर्ने बताए । अर्का सचिव गणेश शाहले विज्ञान प्रविधिको क्षेत्रमा जोड दिन सुझाव दिएका थिए । सचिव राम कार्कीले कम्युनिस्ट पार्टीमा गठन र विघटनको क्रम चलिरहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group