काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित विशेष ट्रिब्युनलले तीन जना वरिष्ठ पत्रकारलाई मुद्दाको सुनुवाइ नसकिएसम्म हिरासतमा राख्न आदेश दिएको छ।
अदालतले ‘एकात्तोर टिभी’का सम्पादक–प्रधान मोजम्मिल बाबु, प्रमुख संवाददाता फर्जाना रुपा तथा दैनिक ‘भोरेर कागोझ’का सम्पादक श्यामल दत्तालाई थुनामै राख्न आदेश दिएको हो।
ट्रिब्युनलले मुद्दाको थप सुनुवाइका लागि अक्टोबर २५ को मिति तोक्दै सम्बन्धित अनुसन्धान निकायलाई यस प्रकरणसम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
पत्रकारहरूमाथि सन् २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलनसँग सम्बन्धित घटनामा गम्भीर आरोप लगाइएको छ। सरकारी अभियोजक पक्षले आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पत्रकार सम्मेलनमा उनीहरूले सोधेका प्रश्न र त्यसपछिका घटनाक्रमलाई लिएर आरोप लगाएको छ।
अभियोजक पक्षका अनुसार उक्त समय विद्यार्थी प्रदर्शनकारीमाथि भएको दमनका क्रममा सयौँ मानिसको ज्यान गएको थियो। पत्रकारहरूलाई आन्दोलनसँग सम्बन्धित विभिन्न मुद्दाका साथै मानवताविरुद्धको अपराधसम्बन्धी गम्भीर आरोपसमेत लगाइएको बताइएको छ।
सीपीजेद्वारा तत्काल रिहाइको माग
पत्रकारहरूको अधिकार र प्रेस स्वतन्त्रताका लागि काम गर्ने संस्था कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)ले भने पत्रकार सम्मेलनमा प्रश्न सोध्नु वा सम्पादकीय निर्णय लिनुलाई अपराधका रूपमा व्याख्या गर्न नमिल्ने जनाएको छ।
सीपीजेले तीनै जना पत्रकारलाई तत्काल रिहा गर्न तथा उनीहरूमाथि लगाइएका आरोप फिर्ता लिन माग गरेको छ।
पत्रकारहरूलाई गम्भीर आरोपमा हिरासतमा राख्ने ट्रिब्युनलको निर्णयसँगै बंगलादेशमा प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत अधिकारसम्बन्धी बहस पुनः चर्किएको छ। एपी
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्